आजको मौसम : मनसुन बाहिरिएसँगै पश्चिमी वायुको आंशिक प्रभाव बढने

काठमाडौं, ३० असोज। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशास्त्रका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका थोरै स्थानमा, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
राति भने देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु/कुहिरो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन आग्रह गरिएको छ।



