समाचार

मधेश प्रदेशमै अपराध अनुसन्धानमा उत्कृष्ट इन्स्पेक्टर अरबिन्द साह, मन्त्रीबाट पाए सम्मान

 अपराध अनुसन्धानमा व्यावसायिक दक्षता, इमानदारी र उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गरेको कदरस्वरूप धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अरबिन्द कुमार साह मधेश प्रदेशकै ‘उत्कृष्ट अनुसन्धानकर्ता’ घोषित भएका छन्।

७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले साहलाई उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा सम्मान गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा अभियोजन शाखामा कार्यरत साहले अनुसन्धानलाई प्रभावकारी बनाउन र अभियुक्तलाई कानुनी दायरामा ल्याउन पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

शुक्रबार आयोजित विशेष समारोहमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले साहलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका थिए। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीद्वारा हस्ताक्षरित प्रशंसापत्रसहित उनलाई सम्मान गरिएको हो।

अपराध अनुसन्धान प्रहरी संगठनको महत्त्वपूर्ण जिम्मेवारीमध्ये एक हो। घटनाको तथ्य पत्ता लगाउने, प्रमाण संकलन गर्ने, दोषीलाई कानुनी प्रक्रियामा ल्याउने र अभियोजनलाई प्रभावकारी बनाउने कार्यमा साहले देखाएको सक्रियता तथा व्यावसायिक प्रतिबद्धतालाई सम्मानको आधार बनाइएको बताइएको छ।

सम्मानपछि साहलाई डीआईजी अधिकारीसहित समारोहमा उपस्थित वरिष्ठ प्रहरी अधिकारीहरूले बधाई तथा शुभकामना दिएका थिए। उनीहरूले आगामी दिनमा पनि उच्च व्यावसायिक दक्षता, इमानदारी र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्न प्रेरित गरेका थिए।

प्रहरी दिवसको अवसरमा प्रदान गरिएको यस सम्मानले अपराध अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको मेहनत र योगदानको कदर गर्नुका साथै संगठनभित्र उत्कृष्ट कार्यसम्पादन तथा व्यावसायिक निष्ठालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button