समाचार

जेनजी आन्दोलनमा फरार भएका कैदी खोज्न कर्णालीमा पाँच हजार प्रहरी खटाइने

सुर्खेत, २१ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालयले जेनजी आन्दोलनमा देशका विभिन्न कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्यमा तीव्रता दिने भएको छ ।

घटस्थापनादेखि छठ पर्वसम्मको अवधिका लागि सुरक्षा प्रदान गर्न भन्दै प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा फरार कैदीबन्दी तथा अभियुक्तहरु चाडपर्वको समयमा आफ्नो घरवतनमा आउन सक्ने र सो अवधिमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै कुनै पनि किसिमका अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, प्रभावकारी अनुगमन, निगरानी तथा नियन्त्रण आवश्यक रहेको जनाएको हो ।

पाँच हजार ५०७ जना जनशक्ति खटाउन लागेको प्रहरीकार्यालयले सुरक्षा चुनौती तथा सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सामान्य, सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत मातहतका जिल्लाहरूमा चाडपर्व लक्षित सुरक्षा योजना–२०८३ तयार गरी लागू गरिएको जनाएको हो ।

‘चाडपर्वको समयमा हुन सक्ने कुनैपनि अपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलापहरु हुन÷गर्न नदिई आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूती दिलाई समग्र कर्णाली प्रदेशको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने  योजना बनाइएको हो,’ प्रदेश प्रहरी कार्यालय प्रमूख डिआईजी जयराज सोपकोटाले भने, ‘चाडपर्वको नाममा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापहरूको रोकथाम एवम् नियन्त्रण गर्दै नागरिकले सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण सृजना गर्ने, सार्वजनिक स्थल, मेलापर्व लगायतका स्थानहरूमा झै–झगडा, हुलदंगा लगायतका कुनै पनि आपराधिक तथा अवाञ्छित गतिविधि हुन नदिई भरपर्दो शान्ति सुरक्षा कायम गर्ने तथा बैंक तथा वित्तीय संस्था, सुनचाँदी र गरगहना पसल लगायत आर्थिक कारोबार हुने स्थानहरू र बढी भिडभाड हुने स्थानहरूमा चोरी, लुटपाट तथा पाकेटमारका घटनाहरूलाई नियन्त्रण गर्ने लक्ष्या रहेको छ ।’

उनका अनुसार बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र ठगीका घटनाहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने, सवारी दुर्घटनाका घटनाहरूलाई न्यूनीकरण गर्ने, तोकिएको भन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउने, अवैध हातहतियार तथा विस्फोटक पदार्थहरूको ओसारपसार र प्रयोगमा नियन्त्रण गर्ने, धार्मिक एवम् साम्प्रदायिक घटनाहरू हुन नदिने लक्ष्य राखिएको उनको भनाइ छ । त्यसका लागि  प्रदेश भरि मोवाईल गस्ती–२८ वटा,  मोटरसाईकल गस्ती–९८ वटा,  क्यूआरटी परिचालन–६० वटा, पैदल गस्ती –१४८ वटा परिचालन गर्ने योजना बनाइएको छ । 

यस्तै लामो तथा छोटो दुरीको गस्ती–२०४ वटा, पिकेट–१७६ स्थान, नियमित, विशेष तथा आकष्मिक चेकिङ–६७ स्थान, ट्राफिक सहितको सयुंक्त चेकिङ–४७ स्थान, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकिय स्थलहरुको सुरक्षा–३८ स्थान, यात्रु सहायता तथा नागरिक सहायता कक्ष (अन्तर्राष्ट्रिय सीमा समेत)–३७ स्थान, माईकिङ प्रचार प्रसार–२४ स्थान, बैंक, वित्तिय संघसस्था सुरक्षा तथा बजार अनुगमन– ३१ स्थान, विशिष्ट व्यक्तिको सुरक्षा–१० वटा र अन्य विभिन्न ड्युटीहरु समेत– ४९४ वटा गरि प्रदेश भरि सुरक्षा योजना मिलाईने कार्यालयले जनाएको छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button