समाचार

नाना पाटेकरले नयाँ कार किन्ने पैसा किसान परिवारलाई बाँडेका थिए

काठमाडौं, २२ असोज । भारतीय अभिनेता नाना पाटेकरको निधनको खबरसँगै उनको अभिनयसँगै सामाजिक सेवासँग जोडिएको एउटा भावुक प्रसंग पनि चर्चामा आएको छ।

नाना पाटेकरले नयाँ कार खरिद गर्न जम्मा गरेको करिब १ करोड ५० लाख रुपैयाँ किसान आत्महत्याबाट प्रभावित परिवारलाई सहयोग गरेका थिए।

एक अन्तर्वार्तामा नाना पाटेकरले आफू र साथी मकरन्द अनासपुरेले नयाँ कार किन्नका लागि करिब १ करोड ५० लाख रुपैयाँ जम्मा गरेको बताएका थिए। तर, एक दिन टेलिभिजनमा किसान आत्महत्या गरेका परिवारको अवस्था देखेपछि उनले कार किन्ने निर्णय परिवर्तन गरेका थिए।

उनले भनेका थिए, ‘एक महिलाले श्रीमान् गुमाएकी छन्, बच्चाले बुबा गुमाएका छन् र आमाबुवाले छोरा गुमाएका छन्। उनीहरूको अवस्था देखेपछि हामीले गाडी किन्ने किन भनेर सोचेँ।’

त्यसपछि उनले साथी मकरन्द अनासपुरेलाई फोन गरेर आत्महत्या गरेका करिब १ हजार किसानका परिवारलाई जनही १५ हजार रुपैयाँका दरले सहयोग गर्न आग्रह गरेका थिए। यसरी करिब १ करोड ५० लाख रुपैयाँ किसान परिवारलाई वितरण गरिएको उनले बताएका थिए।

यही सामाजिक अभियानलाई संस्थागत गर्दै नाना पाटेकर र मकरन्द अनासपुरेले ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए। उक्त संस्थाले महाराष्ट्रको मराठवाडा र विदर्भका सुखाग्रस्त क्षेत्रमा किसान तथा किसान परिवारका लागि विभिन्न सहयोग गर्दै आएको बताइन्छ।

पर्दामा ‘क्रान्तिवीर’को प्रताप नारायण तिलकदेखि ‘वेलकम’को उदय शेट्टीसम्मका फरक–फरक चरित्रमा दर्शकको मन जितेका नाना पाटेकरको सामाजिक जीवन पनि उत्तिकै चर्चित रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button