
काठमाडौं ,नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रम चलिरहेका बेला नेपाली जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति तथा महासमिति सदस्य सीता सापकोटाले महिला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यका लागि ६ जना उम्मेदवारमध्ये एक जना महिला प्रतिनिधित्व हुने प्रावधानअनुसार सापकोटाले महिला कोटातर्फ आफ्नो दाबी प्रस्तुत गरेकी हुन्। लामो राजनीतिक तथा सामाजिक पृष्ठभूमि भएकी सापकोटाको उम्मेदवारीले प्रवासबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला प्रतिनिधित्वको विषयलाई थप चर्चामा ल्याएको छ।
सापकोटाको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। २०४४ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको ऐतिहासिक जनआन्दोलन तथा २०४८ सालको आमनिर्वाचनमा सक्रिय सहभागिता जनाउँदै उनले कांग्रेसको राजनीतिक यात्रालाई निरन्तरता दिएकी हुन्।
उनले २०४९ सालमा आदर्श नारी विकास केन्द्र चितवनको संस्थापक अध्यक्ष, २०५० सालमा नेपाल विद्यार्थी संघ चितवनको सचिव तथा २०५३ सालमा नेपाल तरुण दल चितवनको संस्थापक सदस्यका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। त्यसपछि तरुण दलको राष्ट्रिय तरुण महिला परिचालन समितिको सहसंयोजकको जिम्मेवारीसमेत निर्वाह गरेकी सापकोटाले विद्यार्थी राजनीति हुँदै पार्टी संगठन र सामाजिक क्षेत्रमा आफ्नो सक्रियता विस्तार गरिन्।
सन् २००५ मा बेल्जियम पुगेपछि पनि उनको राजनीतिक तथा सामाजिक सक्रियता रोकिएन। उनले चितवन सहायता कोष बेल्जियमको संस्थापक अध्यक्षका रूपमा सामाजिक क्षेत्रमा काम गरिन्। त्यसपछि नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिको जिम्मेवारी सम्हालिन्। उनी एनआरएनए बेल्जियमको अध्यक्षसमेत भएकी थिइन्।
कांग्रेसको महाधिवेशन प्रक्रियामा पनि सापकोटाको निरन्तर सहभागिता रहँदै आएको छ। १२औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएकी उनी १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्यका रूपमा जिम्मेवारीमा रहिन्। १५औँ महाधिवेशनका लागि पनि महासमिति सदस्यमा निर्वाचित भएर आएकी सापकोटाले यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी अघि सारेकी हुन्।
विदेशमा रहेर पनि पार्टीको विचार, सिद्धान्त र संगठनसँगको सम्बन्धलाई निरन्तरता दिएको आफ्नो राजनीतिक यात्रालाई सापकोटाले उम्मेदवारीको मुख्य आधार बनाएकी छन्। उनका अनुसार विदेशमा रहेका कांग्रेस कार्यकर्ताको आवाज, अनुभव र योगदानलाई पार्टीको मूलधारसँग थप प्रभावकारी रूपमा जोड्न आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।
सापकोटाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा प्रवासमा रहेका कांग्रेस कार्यकर्ताको प्रतिनिधित्वसँग जोडेर हेरेकी छन्। जनसम्पर्क समितिहरूमा लामो समय संगठन निर्माण र नेतृत्वको अनुभव हासिल गरेकाले उक्त अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने उनको भनाइ छ।
महिला प्रतिनिधित्वका दृष्टिले पनि सापकोटाको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ। जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यका लागि ६ जनामध्ये एक जना महिला उम्मेदवार रहने व्यवस्थाबीच उनी महिला तर्फबाट मैदानमा उत्रिएकी हुन्। प्रवासको संगठनमा नेतृत्व गरिसकेको अनुभव र लामो राजनीतिक पृष्ठभूमिका कारण उनको उम्मेदवारीले महिला प्रतिनिधित्वको बहसलाई थप प्रत्यक्ष बनाएको छ।
नेपालमा विद्यार्थी आन्दोलनदेखि सुरु भएको राजनीतिक यात्रा बेल्जियममा पार्टी संगठन, सामाजिक सेवा र गैरआवासीय नेपाली अभियानसम्म विस्तार गरेकी सापकोटाले अब कांग्रेसको केन्द्रीय तहमा आफ्नो भूमिका खोजेकी छन्।
महाधिवेशन प्रतिनिधिहरूसँग उनले आफ्नो राजनीतिक यात्रा, संगठनप्रतिको निरन्तरता र सामाजिक योगदानको मूल्याङ्कन गर्दै साथ, समर्थन र विश्वासका लागि आग्रह गरेकी छन्।
“तपाईंहरूको विश्वास मेरो शक्ति हो, तपाईंहरूको साथ मेरो जिम्मेवारी हो,” सापकोटाले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भनेकी छन्।
१५औँ महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यका लागि देखिएको प्रतिस्पर्धामा सापकोटाको उम्मेदवारीले प्रवासबाट महिला नेतृत्वको प्रतिनिधित्वलाई थप चर्चामा ल्याएको छ। चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रापछि उनी अब नेपाली कांग्रेसको केन्द्रीय समितिमा पुग्ने प्रयासमा छिन्।



