समाचार
लालबन्दी किराना पसलबाट १० लाख चोरी : आरोपी काठमाडौंबाट पक्राउ

रौतहट २० असोज। सर्लाही लालबन्दी नगरपालिका–७ स्थित किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन्।
पसलमा राखिएको नगद चोरी गरी फरार रहेका ब्लोन काठमाडौंमा लुकिछिपी बसेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका ब्लोनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



