त्रिपुरेश्वरमा बसभित्र जलेका अर्जुन दोङकाे दुईवटी श्रीमती, अर्काको लाइसेन्स बोकेर ड्राइभिङ

काठमाडौं, ६ असोज । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङ भएको खुलेको छ ।
रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका दोङको मृत्यु भएको छ ।
उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए। दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका भएको प्रहरीले जनाएको छ ।
दोङ २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीनजना घाइते भएको घटनामा संलग्न रही घटनापछि फरार रहेको बुझिएको छ । उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताए ।
तीन महिनाअघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत दोङले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वर घटनामा पनि दाबा तामाङको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको परिसरले जनाएको छ ।
चालक दोङले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दोङका दुईवटी श्रीमतीसमेत रहेको खुलेको छ । मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भेटिएका दुई महिलाले आफूहरू अर्जुन दोङकी श्रीमती भएको बताएका छन् ।



