समाचार

एकल साँझमा गुञ्जिइन् मीरा राणा

काठमाडौं, ५ असोज । गायिका मिरा राणाको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। ६ दशक लामो सांगीतिक यात्राका चर्चित गीतमार्फत राणाले ७४ वर्षको उमेरमा आफ्नै जीवन र संगीत यात्रालाई सम्झँदै आइतबार राजधानीमा दर्शक तथा श्रोतामाझ प्रस्तुति दिएकी हुन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा खचाखच दर्शकका बीच सम्पन्न मिरा राणा एकल सांगीतिक साँझमा गायिका राणाले आफूले स्वर दिएका तथा संगीत भरेका लोकप्रिय गीतहरू प्रस्तुत गरिन्। उनको सांगीतिक यात्राका विभिन्न कालखण्ड र सहकार्यलाई समेट्दै कार्यक्रममा विभिन्न गायक–गायिकाले मिराका गीत प्रस्तुत गरेका थिए। 

कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा, युनिशा देशारलगायतले मिराका गीत गाएका थिए। मनोहर सुनाम म्युजिक कन्डक्टरका रूपमा रहेका थिए।

प्रकाश सायमीद्धारा सञ्चालित कार्यक्रममा मिराले स्वर सम्राट नारायण गोपालसँग गाएका तिमी देउ या नदेउ, मेरो जोवन लैजाऊ, आँखैमा कसैको तस्वीर बसेछ, बैनीको दया छ भनेलगायतका गीत प्रस्तुत गरिएको थियो।

त्यस्तै शम्भुजीत बासकोटासँग गाएको नाच्देउ मैच्याङ र सिन्धुपालचोक जिल्लामा तथा कुमार बस्नेतसँगको मादल घनघन घन्काउँ कि, लेक फुल्यो लालीगुराँसलगायतका गीत पनि कार्यक्रममा गुञ्जिएका थिए। राणाका चर्चित एकल गीत मखमली चोलो चाहिँदैन, मात चढेको साँझ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, बिर्सिएर मैले फेरि, आजसम्म जसरी बाँचेर आएँ, मेरो फूललाई वसन्त भयोलगायतका गीत पनि प्रस्तुत गरिएको थियो।

क्यान्सरलाई जितेकी र क्यान्सरकै कारण आफ्ना पति उदयजंग राणालाई गुमाएकी मिराले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले मिरा राणा क्यान्सर समाज स्थापना गरी सोही समाजबाट कोष खडा गरेर क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरेकी हुन्।

सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिनाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आयोजक समाजले गायक कुमार बस्नेत तथा संगीतकारद्वय शम्भुजीत बासकोटा र दीपक जंगमलाई सम्मान गर्ने घोषणा पनि गरेको छ। सो अवसरमा एक संस्थाले मिराको सांगीतिक योगदानको सम्मानमा ५० हजार रुपैयाँसहित उनलाई सम्मान पनि गरेको थियो।

मिरा राणाको लामो सांगीतिक यात्राका लोकप्रिय गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले उनको सांगीतिक योगदानलाई सम्झनाका रूपमा प्रस्तुत गरेको थियो भने क्यान्सरपीडितलाई सहयोग गर्ने अभियानलाई पनि अघि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button