मौलिक अधिकार जनताको घरदैलोमा पुर्याउन कटिबद्व छौँः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संविधानले प्रदत्त गरेका मौलिक अधिकार जनताको घरदैलोमा पुर्याउन कटिबद्व रहेको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले ऐतिहासिक दिनमा संघीय लोकतान्त्रिक, गणतन्त्र स्थापनाका साथै कर्णाली प्रदेश प्राप्तिका लागि भएको ऐतिहासिक आन्दोलन, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।
‘नेपालको संविधानले सदीयौंदेखि कायम विभेद, उत्पीडन र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने काम गरेको छ । जनतालाई नै राज्यशक्तिको स्रोतका रूपमा स्थापित गर्दै सार्वभौमसत्ता र सम्प्रभूता जनतामा निहित गराएको यो संविधानले कर्णालीजस्तो भौगोलिक रूपमा विकट तर सम्भावनाले भरिपूर्ण क्षेत्रलाई अधिकार सम्पन्न बनाएको छ ।’
मुख्यमन्त्री शाहीले सन्देशमा भनेका छन्, ‘राजनीतिक अधिकार प्राप्तिको चरण पूरा भइसकेकाले अबको हाम्रो मुख्य लक्ष्य सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु हो । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को प्रादेशिक संकल्प पूरा गर्न कर्णाली प्रदेश सरकार निरन्तर क्रियाशील छ । साधन स्रोतको कुशल प्रयोग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारका अवसरहरू सिर्जना गर्दै संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकारहरु नागरिकको घरदैलोसम्म पुर्याउन हामी प्रतिबद्ध छौं ।’
उनले संविधानको मर्म र भावनालाई पूर्ण रुपमा व्यवहारमा रुपान्तरण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र आमप्रदेशवासीमा गोलबन्द भएर अघि बढ्न हार्दिक आह्वानसमेत गरे ।
राष्ट्रिय दिवसले हामी सबैलाई संविधानको संरक्षण, प्रवद्र्धन र सफल कार्यान्वयन गर्दै कर्णालीको समय रुपान्तरण र समृद्धिका लागि मन, वचन र कर्मले समर्पित हुने प्रेरणा प्रदान गर्ने अपेक्षा मुख्यमन्त्री शाहीको छ ।



