क्षिरेश्वरनाथमा ३८८ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण

लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाविहीन रहेका धनुषाका क्षिरेश्वरनाथ नगरपालिकाका ३ सय ८८ जना परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ ।
नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले लालपुर्जा वितरणलाई प्राथमिकताका साथ अभियानको रुपमा अघि बढाएका छन् ।
यसैक्रममा आज शुक्रबार साविक रमदैया भवाडी गाविसअन्तर्गत वडा नम्बर २, ३, ४, ६, ७ र ८ हालका क्षिरेश्वरनाथ नगरपालिका–१ का ३ सय ८८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । नगरपालिकाका मेयर सुखदेग यादवद्वारा नापी शाखाका प्रमुख उमेशकुमारको उपस्थिति लालपुर्जा वितरण गरिएको हो ।
भोली शनिबार क्षिरेश्वरनाथ नगरपालिका–२ का २ सय ४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी रहेको नापी शाखा कार्यालयका प्रमुख उमेश कुमारले जानकारी दिएका छन् ।
साविक रमदैया भवाडी गाविस अन्तर्गत वडा नम्बर १, ५ र ९ मा पर्ने उक्त क्षेत्रको पनि नाप नक्सा २०७४ सालमै सम्पन्न भएको थियो । यससँगै असोज महिनामा क्षिरेश्वरनाथ नगरपालिका–१ र २ का गरी ६ सय ३० परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्यक्रम रहेको उनले जनाए ।
यसअघि भदौ महिनामा सबैला नगरपालिकाका वडा ८ का ३८५ र हंसपुर नगरपालिकाका ३६५ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो । भदौ ३१ गते नै क्षिरेश्वरनाथ नगरपालिकामा लालपुर्जा वितरण गर्ने कार्यक्रम रहेकोमा प्राविधिक कारणवश दुई दिन ढिलो गरी आज असोज २ गते वितरण गरिएको उनले बताए ।
नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै लालपुर्जा वितरण अभियान चलाइएको प्रमुख उमेश कुमारले बताए ।
उनका अनुसार जग्गा दर्ता गरी पुर्जा वितरण भएपछि वर्षौंदेखि जग्गाको स्वामित्व स्थापित हुन नसकेका परिवारले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व कायम गर्ने आधार पाउनेछन् । यसले भूमिसम्बन्धी समस्या समाधान तथा व्यवस्थित बसोबासमा समेत सहयोग पुग्नेछ ।
स्ववासीको लगत तयार हुने र गाउँ ब्लक क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा संवर्धनमा समेत सहयोग पुग्ने नापी कार्यालयले जनाएको छ । स्थानीय तहलाई व्यवस्थित बसोबास क्षेत्रको अवधारणा तयार गरी दीर्घकालीन योजना बनाउनसमेत पुर्जा वितरणले सहज बनाउने जनाइएको छ ।
नाप नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका जिल्लाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरण अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुर्जा वितरणलाई निरन्तरता दिइने प्रमुख उमेशले जनाएको छ ।



