समाचार

फिफा अध्यक्षसँग ‘हिस्सा बिक्री योजना’ का कागजात सार्वजनिक गर्न माग

काठमाडौं, २ असोज — इङ्लिस फुटबल एसोसिएसनकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र पठाउँदै विश्वकपको स्वामित्वको केही हिस्सा बिक्री गर्ने विवादास्पद योजनासँग सम्बन्धित सबै कागजातहरू सार्वजनिक गर्न माग गरेकी छिन्।

 

पत्रमा हेविटले अक्टोबर १५ मा बस्ने फिफा काउन्सिलको आगामी बैठकअघि नै ती कागजातहरू उपलब्ध गराउनुपर्ने शर्त राखेकी छिन्। साथै, अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथि लगाइएको निलम्बन फुकुवा गरिनुको लिखित स्पष्टीकरण पनि फिफा काउन्सिलले पाउनुपर्ने उनको भनाइ छ।

 

फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमलाई समेत सम्बोधन गरिएको उक्त पत्रमा विश्व फुटबलको सर्वोच्च निकायभित्र सुशासनको अभाव र सांगठनिक संस्कृतिमा ह्रास आएको आरोप लगाइएको छ।

 

'फिफा फर्वाड इन्टरप्राइज' प्रस्ताव रद्द भएपछि अध्यक्ष इन्फान्टिनोमाथि दबाब बढ्दै गएको छ, एफएफई योजनाअन्तर्गत विश्वकप लगायतका सम्पूर्ण प्रतियोगिताहरूको व्यावसायिक तथा टिकटसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी खडा गर्ने र त्यसको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने योजना थियो। तर, विभिन्न राष्ट्रिय फुटबल संघहरूको व्यापक विरोधपछि उक्त प्रस्ताव खारेज गरिएको थियो।

 

हेविटको पत्रमा एफएफईको अवधारणा कसरी र कसद्वारा तयार पारियो तथा निजी लगानीका लागि कसरी टेन्डर आह्वान गरियो भन्ने विषयमा स्वतन्त्र समीक्षा हुनुपर्ने उल्लेख छ।

 

यसै विषयलाई लिएर गत महिना युरोपेली फुटबल महासंघले एफएफई योजनाका विरुद्ध अमेरिकाका तीनवटा अदालतमा फौजदारी कानुनी कारबाहीको प्रक्रिया सुरु गर्दै सम्पूर्ण कागजात सार्वजनिक गर्न माग गरेको थियो। यसको जवाफमा फिफाले युइएफएमाथि आफ्नो नेतृत्वविरुद्ध "बदनाम गर्ने अभियान" चलाएको आरोप लगाएको थियो। ५६ वर्षीय इन्फान्टिनो आगामी मार्चमा चौथो कार्यकालका लागि फिफा अध्यक्षको निर्वाचनमा उम्मेदवार बन्दैछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button