भारतीय नागरिकसँग भेटियो १३ लाख ६५ हजार रुपैयाँ, स्रोत खुलाउन सकेनन्

धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
धनुषाको धनौजी गाउँपालिका-२ गोरदाहा देउरीस्थित भित्री सडकमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले १३ लाख ६५ हजार रुपैयाँ नगद बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार बुधवार दिउँसो करिब ३ः४५ बजे प्रहरी चौकी धनौजीबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा मोटरसाइकल चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा भारतको मधुबनी जिल्ला खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारको कमरमा लुकाएर राखिएको अवस्थामा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद रकमको स्रोत तत्काल खुल्न सकेको छैन। नगदसहित बयारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
ठूलो रकम नगद बोकेर सीमावर्ती क्षेत्रको भित्री सडक हुँदै मोटरसाइकलमा हिँडिरहेका बयारको उक्त रकम कहाँबाट आयो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।



