बाराका नयाँ सीडीओको पहिलो सन्देश : तस्करीदेखि अवैध क्रसरसम्म कडाइ

बाराको प्रशासनिक नेतृत्व सम्हालेका नवआगन्तुक सिडियो खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिक हितसँगै तस्करी तथा लागूऔषध नियन्त्रणमा कडाइ गर्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय बारामा बुधवार सञ्चारकर्मीसँगको परिचयात्मक भेटघाटमा सिडियो अधिकारीले सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषधको कारोबार तथा मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योगमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए।
‘प्रशासन नागरिकको सेवाका लागि हो’ भन्ने मान्यताअनुसार नागरिकका समस्या र गुनासोलाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनको भनाइ थियो।
सूचना प्रवाहमा सुधारको अपेक्षा
भेटघाटका क्रममा सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयबाट हुने सूचना प्रवाहमा देखिएका समस्या, प्रशासन र सञ्चार क्षेत्रबीचको समन्वय तथा नेपाल पत्रकार महासंघ बारा शाखालाई विगतमा बेवास्ता गरिएको विषयमा प्रजिअ अधिकारीको ध्यानाकर्षण गराएका थिए।
पत्रकारका जिज्ञासाको जवाफ दिँदै अधिकारीले आफू सबै सरोकारवाला निकायसँग सम्मानजनक व्यवहार र सहकार्यका साथ अघि बढ्ने बताए। प्रशासन र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै सूचनामा सहज पहुँच तथा आवश्यक समन्वयका लागि आफूले ध्यान दिने उनले बताए।
सञ्चारकर्मीहरूले सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषध नियन्त्रण, शान्ति सुरक्षा, अवैध क्रसर उद्योग तथा प्रशासनिक सेवा प्रवाहलगायतका विषयमा सिडियो अधिकारीसँग प्रश्न गरेका थिए। कार्यक्रममा सहायक सिडिओ छविरमण भट्टराई तथा इलाका प्रशासन कार्यालय सिमराका कार्यालय प्रमुखलगायतको उपस्थिति थियो।
भेटघाटमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, जिल्ला सचिव पुष्पराज खतिवडा, जिल्ला कार्यसमिति सदस्य नरेश गुप्तालगायत पत्रकार मनोज साह, एसएस पटेलसहित सञ्चारकर्मीहरूको सहभागिता थियो।
जाजरकोटको अनुभव बोकेर बारा आइपुगे सिडियो अधिकारी
सिडियो अधिकारी यसअघि जाजरकोटका सिडियो थिए। जाजरकोटमा रहँदा उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण, बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनलगायतका काममा जिल्ला प्रशासनको नेतृत्व गरेका थिए।
गृह मन्त्रालयको पछिल्लो सरुवा निर्णयअनुसार जाजरकोटबाट सिडियो अधिकारी भदौ २४ गते जिल्ला प्रशासन कार्यालय बारामा हाजिर गरेका हुन्।
सीमावर्ती जिल्ला बाराको प्रशासनिक नेतृत्व सम्हालेसँगै सिडियो अधिकारीले पहिलो औपचारिक भेटमै आफ्ना प्राथमिकता स्पष्ट गरेका छन्। सीमा अपराध तथा तस्करी नियन्त्रण, लागूऔषध नियन्त्रण, अवैध क्रसरमाथि निगरानी, नागरिकमैत्री सेवा प्रवाह र प्रशासन–सञ्चार समन्वय अब उनका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।



