आज ६ संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २६ भदौ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार विषयगत प्राथमिकताका आधारमा बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म यी बैठकहरू सञ्चालन हुने कार्यसूची छ।
बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुँदैछ। बैठकमा अर्थमन्त्रीका साथै अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूलाई छलफलका लागि बोलाइएको छ। सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा उत्पीडनबाट संरक्षण गर्नेबारे छलफल हुनेछ।
यस्तै, बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत भएको क्षति, उद्धार, राहत एवं पुनर्स्थापनाबारे छलफल हुनेछ। समितिले समस्या, चुनौती र आगामी रणनीतिका सम्बन्धमा जानकारी लिन स्वास्थ्यमन्त्री र मन्त्रालयका सचिवलाई बोलाएको छ।
दिउँसो सवा १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा जलवायु परिवर्तनले नेपालमा पारेको गम्भीर क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनबारे विषयविज्ञ एवं सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।
यसैगरी, दिउँसो साढे १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता कार्यान्वयन एवं सबलीकरणका सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ भने दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” माथि दफावार छलफल गर्ने तयारी गरिएको छ।



