समाचार

ब्रिक्स शिखर सम्मेलन: पुटिन नयाँ दिल्लीमा, सि जिनपिङ पनि पुग्दै

नयाँ दिल्ली, २६ भदौ । मध्य पूर्व तथा युक्रेनमा जारी युद्ध र विश्वव्यापी आर्थिक चुनौतीहरूका बिच आयोजना हुन लागेको ब्रिक्स  शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन्।

 

दिल्लीस्थित पालम वायुसेना स्टेसनमा ओर्लिएका पुटिनलाई भारतका विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले स्वागत गरेका थिए। रुसी समाचार संस्था 'तासले पुटिनको दिल्ली पुगेकाे जानकारी दिएकाे हाे ।

 

 

सम्मेलनका क्रममा रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी मसुद पेजेस्कियनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। दुईदिने यो बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुदैँछन । 

 

सन् २०१९ यता चिनियाँ राष्ट्रपति सीको यो पहिलो भारत भ्रमण हुनेछ। हिमालय क्षेत्रको विवादित सीमामा भएको घातक सैन्य झडपको ६ वर्षपछि दुई छिमेकी राष्ट्रहरूबीच सम्बन्ध सुधारका दिशामा यो भ्रमणलाई महत्त्वपूर्ण कदम मानिएको छ। हालैका दिनहरूमा दुवै देशबीच उडान, भिसा तथा उच्चस्तरीय सम्पर्कहरू क्रमशः पुनर्स्थापित भइरहेका छन्। यद्यपि, सीमा विवाद, बढ्दो व्यापार घाटा र रणनीतिक प्रतिस्पर्धाका कारण दुई देशबिचको अविश्वास अझै कायमै रहेकाे इन्डियन एक्सप्रेसले उल्लेख गरेकाे छ ।

 

शिखर सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। मुख्य क्षेत्रहरूमा व्यापक ट्राफिक प्रतिबन्ध लागू गरिनुका साथै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। दिल्ली प्रहरीले सर्वसाधारणलाई धैर्य र सहयोगका लागि आग्रह गरेको छ।

 

पश्चिमा शक्तिहरूको वर्चस्व रहेका अन्तर्राष्ट्रिय संस्थाहरूमा उदीयमान अर्थतन्त्रहरूको प्रभाव बढाउने उद्देश्यका साथ सन् २००९ मा 'ब्रिक्स' को स्थापना भएको थियो। हाल यस समूहमा इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्ससमेत थपिएका छन्।

 

विशेषज्ञहरूका अनुसार विस्तारित समूहभित्रै मध्य पूर्वको द्वन्द्वलाई लिएर फरक-फरक दृष्टिकोण रहेकाले यो सम्मेलन चुनौतीपूर्ण बन्न सक्छ। भारतको 'अब्जर्भर रिसर्च फाउन्डेसन' का हयारिस भी पन्तलेले द गार्जियनसँग भने, "यसपटक ब्रिक्स शिखर सम्मेलनमा खाडी क्षेत्रको द्वन्द्व नै मुख्य विवादको विषय बन्नेछ। गत वर्षसम्म उपलब्धि मानिएको ब्रिक्सको विस्तार नै अहिलेका लागि ठूलो चुनौतीजस्तो देखिन थालेको छ।"

 

 

त्यस्तै 'क्यापिटल इकोनोमिक्स' का शिलन शाहले इरानमा चलिरहेको द्वन्द्वले विस्तारित समूहको एकताको कडा परीक्षा लिने बताएका छन्। यसअघि मे महिनामा दिल्लीमा भएको ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा संयुक्त विज्ञप्ति जारी गर्न सहमति जुट्न सकेको थिएन।

 

 

भारतको इरान र इजरायल दुवैसँग सुमधुर सम्बन्ध रहे पनि उसले अमेरिकासँगको सम्बन्धमा समेत सन्तुलन कायम राख्ने प्रयास गरिरहेको छ। द्वन्द्वका कारण उत्पन्न ऊर्जा संकट सामना गर्न भारतले रुसबाट इन्धन आपूर्ति बढाएको छ, जसले गर्दा युक्रेन युद्धका बिच रुस भारतको प्रमुख इन्धन आपूर्तिकर्ता बनेको छ।

 

यसै बिच, भारतका विदेश मन्त्री एस. जयशंकरले भर्खरै किएभको भ्रमण गरेका थिए। सो अवसरमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि भारतले देखाएको प्रतिबद्धताप्रति आभार व्यक्त गरेका थिए।

 

तस्विरः आईएएनएस, एक्स 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button