समाचार

काठमाडौंमा ग्यासको कालोबजारी : २६ सयमा सिलिन्डर बेच्ने पसललाई ३ लाख जरिबाना

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी चुलिएका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठगी गर्ने व्यवसायीमाथि कारबाही थालेको छ। अभावको मौका छोपी प्रतिसिलिन्डर २ हजार ६ सय रुपियाँमा ग्यास बिक्री गर्ने काठमाडौंको मूलपानीस्थित बाबा चोकमा रहेको ‘अनिल खाद्य किराना पसल’लाई विभागले बिहीबार ३ लाख रुपियाँ जरिबाना गरेको छ।

गोप्य उजुरीका आधारमा खटिएको विभागको अनुगमन टोलीले सुगम ग्यास निर्धारित मूल्यभन्दा निकै बढीमा बिक्री गरेको प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम उक्त जरिबाना गराएको निर्देशक अनिल किराँतीले जानकारी दिए। विभागले यसअघि गत मङ्गलबार पनि ग्यासमा कालोबजारी गर्ने अर्का एक व्यवसायीलाई ३ लाख रुपियाँ जरिबाना गराएको थियो।

गत असार अन्तिम सातादेखि नै उपत्यकामा ग्यासको सहज आपूर्ति हुन सकेको छैन। पछिल्लो समय भोटेकोशीको हिमबाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा खसेको पहिरोका कारण आपूर्ति शृङ्खला पूर्ण रूपमा प्रभावित भएको छ। कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास बुलेट उपत्यका भित्रिन नसकेपछि व्यवसायीहरूले हेटौँडा, वीरगन्ज, नवलपरासी र धनुषाजस्ता वैकल्पिक नाकाबाट ग्यास उपत्यका ल्याइरहेका छन्।

नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेकोमा अहिले दैनिक औसत ३० हजार सिलिन्डर मात्र भित्रिने गरेको छ। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको जनाउँदै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपियाँमा थप १०५ रुपियाँ ३८ पैसा जोडेर बिक्री गर्न आग्रह गरेको छ।

ग्यास पाउन छाडेपछि उपभोक्ताहरू प्रतिसिलिन्डर २ हजार ६ सयदेखि ३ हजार रुपियाँसम्म तिर्न बाध्य भएका छन्। यद्यपि, अनुचित व्यापारिक क्रियाकलाप र कालोबजारी रोक्न ग्यास उद्योग तथा डिपोहरूमा केन्द्रित भई बजार अनुगमनलाई तीव्र पारिएको विभागले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button