सीमाबाट भित्रिँदै थिए २०० कुखुराका चल्ला, भारतीय मोटरसाइकलसहित बरामद

गौर नगरपालिका–६ स्थित सबगढा बाँधको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गरिरहेका बेला मोटरसाइकलमा लोड गरिएका चल्ला नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका डीएसपी प्रेमकुमार चौधरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतीय नम्बर बीआर ०१ डीएक्स ५८२२ को सुपर स्प्लेन्डर मोटरसाइकलमा राखेर ल्याइँदै गरेका कुखुराका चल्ला फेला पारेको थियो।
सुरक्षाकर्मीलाई देखेपछि मोटरसाइकल चालक भने चल्ला र मोटरसाइकल त्यहीँ छाडेर भारततर्फ फरार भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका २०० वटा चल्लाको मूल्य ६० हजार रुपैयाँ र मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ गरी कुल १ लाख ६० हजार रुपैयाँ कायम गरिएको थियो।
बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको थियो। नेपालमा कानुनअनुसार आयात गर्न प्रतिबन्धित कुखुराका चल्ला सम्बन्धित निकाय तथा साक्षीहरूको रोहबरमा भन्सार कार्यालयले नष्ट गरेको गौर भन्सार कार्यालयका प्रमुख विकासकुमार रजकले जानकारी दिए।
उनका अनुसार भारतीय मोटरसाइकललाई भने आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमै नियन्त्रणमा राखिएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय भारतबाट अवैध रूपमा कुखुराका चल्ला, खाद्यान्न तथा अन्य सामग्री नेपाल भित्र्याउने गतिविधि बढेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई थप कडाइ गरेको जनाएको छ।



