
बारा, महागढीमाई। बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा भएको चोरीको घटनाले धार्मिक आस्था र सम्पदा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार मन्दिरबाट चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी तथा सुनको हार चोरी भएको हो।
गढीमाई मन्दिर नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थलमध्ये एक हो, जहाँ हरेक वर्ष हजारौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन्। विशेषगरी पाँच वर्षमा एकपटक आयोजना हुने गढीमाई मेलामा नेपालसँगै भारतलगायत विभिन्न देशबाट लाखौं श्रद्धालु सहभागी हुने गरेका छन्। यस्ता ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरमै चोरी हुनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय बनेको छ।
स्थानीयवासीले मन्दिरमा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै तत्काल चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। धार्मिक सम्पदाको संरक्षणका लागि मन्दिर परिसरमा २४सै घण्टा सुरक्षा निगरानी, सीसीटीभी प्रणालीको प्रभावकारी सञ्चालन तथा नियमित गस्तीको व्यवस्था गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ।
प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान अघि बढाएको जनाएको छ। चोरीमा संलग्न व्यक्ति वा समूहको खोजी तीव्र पारिएको र चोरी भएका बहुमूल्य गहनाको बरामदका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
गढीमाई मन्दिरमा भएको यस घटनाले केवल बहुमूल्य गहना मात्रै नभई लाखौं श्रद्धालुको आस्थामाथि पनि चोट पुगेको महसुस गरिएको छ। दोषीलाई शीघ्र कानुनी दायरामा ल्याई यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न स्थानीयवासी तथा भक्तजनले सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।



