
वीरगञ्ज=बालबालिकाको मनोरञ्जन र पारिवारिक घुमफिरका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्रै अवैध रूपमा हुक्का तथा सुर्तीजन्य पदार्थको कारोबार भइरहेको खुलेपछि वीरगञ्ज महानगरपालिकाले कडा कदम चालेको छ। कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा गरिएको आकस्मिक अनुगमनका क्रममा ठूलो परिमाणमा हुक्का र सुर्तीजन्य सामग्री बरामद गरिएको हो। 
बुधबार वडा नं. ४ स्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) भित्र सञ्चालित दियास हस्पिटालिटी प्रा.लि. मा नगर प्रहरी, अनुगमन टोली तथा स्थानीय साक्षीको रोहवरमा गरिएको खानतलासीका क्रममा स्टोरमा लुकाइराखिएको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ वटा हुक्का स्ट्यान्ड तथा १७ प्याकेट विभिन्न फ्लेभरका हुक्का र सुर्तीजन्य पदार्थ बरामद गरिएको महानगरपालिकाले जनाएको छ। 
महानगरका अनुसार सम्बन्धित व्यवसाय दर्ता तथा नवीकरण भएको भए पनि सार्वजनिक पार्कभित्र हुक्का तथा सुर्तीजन्य पदार्थ भण्डारण र बिक्री–वितरण गर्नु कानुनविपरीत भएकाले सम्पूर्ण सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले बालबालिका खेल्ने पार्कलाई धूमपान र हुक्का सेवनको केन्द्र बनाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले सार्वजनिक स्थानमा यस्ता गतिविधिले बालबालिकामा नकारात्मक प्रभाव पार्ने भएकाले यस्ता कार्यमा संलग्न व्यक्ति वा व्यवसायलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी दिनुभयो। 
उहाँले महानगरपालिकाले अब होटल, रेस्टुरेन्ट, क्याफे, पार्क, विद्यालय आसपास तथा अन्य सार्वजनिक स्थानमा नियमित र आकस्मिक अनुगमनलाई थप प्रभावकारी बनाउने जानकारी दिँदै सार्वजनिक स्वास्थ्यमा असर पुर्याउने कुनै पनि गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने बताउनुभयो। 
स्थानीयवासीले पनि बालबालिकाका लागि निर्माण गरिएको पार्कभित्र हुक्का तथा सुर्तीजन्य पदार्थको कारोबार हुनु गम्भीर लापरबाही भएको भन्दै महानगरको कदमको स्वागत गरेका छन्। महानगरपालिकाले यस्ता गतिविधिबारे जानकारी भए तत्काल सूचना दिन सर्वसाधारणसँग समेत आग्रह गरेको छ। 



