अपराधमधेससमाचार

ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव मुद्दामा संलग्न ६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगंज महानगरपालिका–१० आदर्शनगर स्थित एक गोदाममा चोरीपैठारी तथा तोडफोडको घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।
प्रहरीका अनुसार यहि माघ २६ गते राति करिब १०ः३० बजे वीरगंज–१० आदर्शनगर बस्ने ५० वर्षीय रुन्चे मियाँले प्रयोग गर्दै आएको मदन गुप्ताको गोदाममा जबर्जस्ती प्रवेश गरी भन्सार छली चोरीपैठारीबाट भित्र्याइएका सामान अनधिकृत रूपमा भण्डारण गरिएको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।
सूचनापछि सशस्त्र प्रहरी बल गुल्म हे.क्वा. वीरगंज–१३, नेपाल प्रहरी पर्सा तथा वीरगंज भन्सार कार्यालयका तथ्यांक अधिकृत सहितको संयुक्त टोलीले गोदाममा जाँच गर्दा त्यहाँ राखिएका सामान हटाउन खोज्दा प्रहरीमाथि ढुंगा, मुढा तथा भाटा प्रहार गर्नुका साथै सवारी साधन तोडफोड गर्ने कार्य भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रबक्ता बस्नेतको अनुसार घटनामा संलग्न रहेको आरोपमा
वीरगंज महानगरपालिका–१० घडिअर्वा बस्ने वर्ष ४६ का प्रमोद कुमार कानु , वर्ष ३० का कुन्जन सरार्फ, वीरगंज महानगरपालिका–९ छपकैया बस्ने वर्ष ३८ का दिपराज सहनी मलाह,भारत, बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल बस्ने वर्ष ४० का प्रभु महतो, बिहार राज्य भागलपुर जिल्ला पोडिया बस्ने वर्ष ३५ का पुतम कुमार चौधरी र
बिन्दबासिनी गाउँपालिका–५ बस्ने वर्ष ५५ का श्रीचन्द्र प्रसाद साह पक्राउ परेका छन्।
साथै पक्राउ परेका विरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने, सरकारी निकायको काममा अवरोध गर्ने तथा आपराधिक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्। उनले अवैध कारोबार, भन्सार छली आयात र आपराधिक गतिविधिविरुद्ध प्रहरीले कडाइका साथ कारबाही जारी राख्ने समेत बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button