जोहर (मलेसिया), २६ अक्टोबर २०२५ — प्रवासी नेपाली समन्वय समिति (PNCC) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त सहयोगमा सञ्चालित Outreach Program “MIRIDEW” अन्तर्गत मलेसियाको जोहर राज्यस्थित कुलाईमा “अनलाइन श्रम नवीकरण (Foreign Employment Information Management System – FEIMS)” सम्बन्धी सचेतनामूलक कार्यक्रम आज आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको संचालन पिएनसिसीका आउटरीच अफिसर सुरेन्द्र महतोले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण राजु तामाङले गर्नुभएको थियो।
उक्त कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब ३५ जना नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू सहभागी भएका थिए। सहभागीहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मार्फत श्रम नवीकरण गर्ने प्रक्रिया, आवश्यक कागजात, शुल्क, र कानुनी मान्यता प्राप्त माध्यमहरूको बारेमा विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रममा वक्ताहरूले अनलाइन श्रम नवीकरण प्रणालीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई पारदर्शिता, सहजता र सुरक्षा प्रदान गर्ने बताएका थिए। साथै, यो प्रणालीले श्रम स्वीकृति नवीकरण गर्दा दलाल तथा बिचौलियाबाट हुने ठगी रोक्न र दूतावाससँग प्रत्यक्ष रूपमा समन्वय गर्न सहयोग पुग्ने कुरा पनि उल्लेख गरिएको थियो।
पिएनसिसीका प्रतिनिधिहरूले मलेसियामा रहेका श्रमिकहरूबीच यस्ता सचेतनामूलक कार्यक्रमले ठूला सकारात्मक प्रभाव पारिरहेको बताउँदै, आगामी दिनहरूमा पनि देशका विभिन्न राज्यहरूमा निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।
सहभागीहरूले पनि FEIMS प्रणालीबारे जानकारी पाएपछि श्रम नवीकरणका क्रममा हुने समस्या घट्ने, समय र खर्च दुवै बचत हुने बताएका थिए। उनीहरूले यस्ता कार्यक्रमले प्रवासी नेपालीहरूलाई अधिकारबोध गराउने र सुरक्षित वैदेशिक रोजगारमा सहयोग पुग्ने बताए।
