नेपालमा लगानी अवसरबारे क्वालालम्पुरमा अन्तरक्रिया|

41

क्वालालम्पुर, – नेपाली राजदूतावास, क्वालालम्पुरको आयोजनामा नेपालमा लगानी र उद्यमशीलताको अवसरबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिहरू, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा तथा दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा नेपालमा वैदेशिक लगानीका सम्भाव्यता, लगानीमैत्री नीतिगत संरचना, पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि तथा उत्पादन क्षेत्रका अवसरबारे छलफल गरिएको दूतावासले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. खतिवडाले नेपाल सरकार लगानी प्रोत्साहनका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई नेपालमा पर्यटन, जलविद्युत्, उत्पादन तथा सेवा क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले नेपाल भौगोलिक हिसाबले विशाल बजार नजिकको अवसरयुक्त मुलुक भएकाले लगानीकर्ताका लागि लाभदायी गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

यस अवसरमा मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिहरूले नेपालमा लगानी गर्न चासो व्यक्त गर्दै दुवै मुलुकबीच व्यापार र लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाए डा. खतिवडा यसअघि Boao Forum for Asia–Pacific Regional Cooperation Roundtable मा सहभागी हुन क्वालालम्पुर आएका हुन् ।

Leave a comment