बागलुङ सेवा समाजको पहल र दूतावासको सहयोगमा मलेसियामा निधन भएका पाण्डे थापाको शव नेपाल पठाइयो।

120

क्वालालम्पुर/काठमाडौँ।
मलेसियामा निधन भएका बाग्लुङ जिल्ला, जैमिनी नगरपालिका–३ देउराली खानी निवासी सस बहादुर पाण्डे थापाको शव नेपाल ल्याइएर काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

करिब १२–१३ वर्षअघि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका थापा पछिल्ला ७–८ वर्षदेखि कानुनी कागजात नवीकरण हुन नसक्दा गैरकानुनी रूपमा बस्दै काम गर्दै आएका थिए। यही २०८२ साल साउन २३ गते मलेसियामै उनको निधन भएको हो।

निधनपछि प्रारम्भमा मृतकको परिचय नखुलेपछि सामाजिक सञ्जालमार्फत खबर सार्वजनिक गरिएको थियो। पछि नेपालस्थित साथीहरूले पहिचान गरेपछि परिवारसँग सम्पर्क गरी आवश्यक कागजात संकलन गरिएको थियो।

बाग्लुङ सेवा समाज मलेसियाको पहल र नेपाली दूतावास, मलेसियाको सहकार्यमा लामो प्रयासपछि शव नेपाल पठाइएको हो। शव नेपाल पुगेपछि परिवारले ग्रहण गरी पशुपति आर्यघाटमा परम्परागत विधिअनुसार अन्त्येष्टि गरिएको हो।

बाग्लुङ सेवा समाज मलेसियाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, मलेसियामा रहेका नेपालीहरूलाई गैरकानुनी रूपमा बस्ने अवस्थाबाट जोगिन अनुरोध गरेको छ।

Leave a comment