वडाध्यक्षले दोहोरो नागरिकता लिएको उजुरीपछि प्रशासनले थाल्यो छानबिन
वडाध्यक्ष रामानन्द प्रसादमाथि दोहोरो नागरिकताको आरोप लागेको छ। उनले आरोप अस्वीकार गर्दै प्रतिपक्षीको षड्यन्त्र भएको दाबी गरेका छन्।
नेपाल र भारत दुवैतर्फबाट नागरिकता लिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय गौरले रौतहटको दुर्गा भगवती गाउँपालिका–४ स्थित पचरुखी छतौना गाउँका वडाध्यक्ष रामानन्द प्रसादको नागरिकता छानबिन थालेको छ । प्रशासनले छानबिनका लागि प्रहरीलाई समेत पत्राचार गरेको छ ।
वडाध्यक्ष प्रसादले दोहोरो नागरिकता लिएको भनेर गएको असार ११ मा गृह मन्त्रालयबाट पत्र आएपछि छानबिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । ‘हामीले वडाध्यक्षलाई बोलाएर पहिलो चरणमा सोधपुछ सकिसकेका छौं । उनले इन्कारी बयान दिएका छन्,’ प्रजिअ खड्काले भने, ‘थप अनुसन्धानका लागि जिल्ला प्रहरीलाई लेखेर पठाएका छौं ।’
प्रजिअ खड्काका अनुसार रामानन्द प्रसादले प्रशासनमा वंशजको नागरिकता पेस गरेका छन् । उनले बुवाको पनि वंशजको नागरिकता भएको बताएका छन् । प्रशासनले बुवाको पनि नागरिकता पेस गर्न भनेको प्रजिअ खड्काले जनाए । उजुरीकर्ताले दुवै देशको नागरिकतामा वडाध्यक्ष रामानन्द प्रसादकै फोटो भएको दाबी गरेको प्रशासनले जनाएको छ ।
दुवै देशको नागरिकतामा विवरण भने फरक–फरक रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको निर्वाचन आयोगले जारी गरेको परिचयपत्रमा रामानन्द प्रसादको नाम छैन । पप्पुप्रसाद यादव लेखिएको छ । बुवाको नाम सियारामप्रसाद यादव लेखिएको छ । यता नेपालको नागरिकतामा रामानन्द प्रसाद र बुवाको नाम रामचन्द्र कापड यादव लेखिएको पाइएको छ । तर दुवैमा फोटो रामानन्द प्रसादकै हो भनेर उजुरी परेको प्रशासनको भनाइ छ । 
प्रशासनले भारतीय दूतावासलाई समेत जानकारी गराएको छ । प्रजिअ खड्काले दुवै देशको नागरिकतामा वडाध्यक्षकै फोटो हो भनेर फोटोको जाँच गर्न नसकिने बताए । वडाध्यक्ष रामानन्दले आफूलाई नेपाल र भारत दुवै देशको नागरिकता भएको भनी प्रचार गरेको समाचार असत्य र प्रतिपक्षीको षड्यन्त्र भएको दाबी गरेका छन् । ‘म एउटा जिम्मेवार जनप्रतिनिधि हुँ । मबाट गैरकानुनी काम हुँदैन,’ उनले भने, ‘मैले वंशजका आधारमा नागरिकता लिएको हुँ । विपक्षीले समाजमा मेरो चरित्रहत्या गर्न लागेका छन् ।’ आफूविरुद्ध ठोस प्रमाण भेटिए जुनसुकै सजाय भोग्न पनि तयार रहेको उनले सुनाए ।
