मलेसिया बिशेषसमाचारसमाजस्वास्थ्य

दूतावासद्वारा प्यारालाईस र मानसिक असन्तुलन पीडित नेपालीहरुको उद्धार, स्वदेश फिर्ता।

क्वालालम्पुर:=मलेसियास्थित नेपाली राजदूतावासले मलेसियामा प्यारालाईस तथा मानसिक असन्तुलनबाट पीडित दुई नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको छ।

उनीहरूलाई मलेसिया सरकारले सञ्चालन गरेको घरफिर्ती कार्यक्रम (Repatriation Program) अन्तर्गत उद्धार गरिएको हो। खोटाङको रूपाकोट-११ निवासी ३५ वर्षीय सुजन सार्की र धनुषाको जनकपुर-२४ निवासी २७ वर्षीय आनन्द पाण्डे गरी दुईजना पीडितलाई नेपाली दूतावासको समन्वयमा नेपाल फर्काइएको हो।

तीन महिना थलिएका सुजनलाई एम्बुलिफ्टमार्फत उद्धार

सन् २०१७ मा रोजगारीका लागि मलेसिया आएका सुजन सन् २०२२ मा कम्पनी छाडेर अवैध हैसियतमा बसोबास गरिरहेका थिए। करिब तीन महिनादेखि प्यारालाईसले थला परेका उनलाई दुई खुट्टा नचल्ने अवस्थासम्म पुगेपछि साथीभाइले संरक्षण दिइरहेका थिए। उपचार खर्च र नेपाल फर्कने प्रक्रिया जटिल भएपछि उनी PNCC (प्रवासी नेपाली समन्वय परिषद) सम्पर्कमा आएका थिए।

उनको उद्धारका क्रममा RM 590 बराबरको एम्बुलिफ्ट शुल्क RSP (प्रवासी समन्वय परिषद) ले व्यहोरेको संयोजक पूर्ण सुब्बाले जानकारी दिए।

मानसिक सन्तुलन गुमाएका आनन्दलाई क्रिटिकल अवस्थामा फिर्ता 

सन् २०२३ मा मलेसिया आएका आनन्द पाण्डे कम्पनीमै काम गर्ने क्रममा मानसिक सन्तुलन गुमाएका थिए। दुईपटक आत्महत्याको प्रयास गरेका उनले कम्पनीबाट भाग्ने प्रयाससमेत गरेका थिए। दोस्रोपटक आत्महत्या प्रयास गरेपछि कम्पनीले दूतावासलाई जानकारी दिएको थियो।

दूतावासको पहलमा उनलाई २ हप्तासम्म क्रिस्टिना केयर सेन्टरमा राखियो। फिङ्गर प्रिन्टका लागि अध्यागमन कार्यालय लैजाँदा उनी भागेका थिए, जसलाई समात्न २ घण्टा लागेको थियो। हवाई यात्रा अवधिभर संयमित बनाइराख्न औषधिको समेत प्रयोग गरिएको थियो।

उनको सम्पूर्ण उद्धार खर्च कम्पनीले नै व्यहोरेको हो।

बुवाको मृत्युपछि स्वदेश फर्किए वीरबहादुर

सूर्योदय नगरपालिका-४, इलाम निवासी वीरबहादुर गुरुङ बुवाको निधनको खबर पाएपछि PNCC सम्पर्कमा आएका थिए। दूतावासले उनलाई निःशुल्क ट्राभल डकुमेन्ट र हवाई टिकट उपलब्ध गराउनुका साथै अध्यागमन प्रक्रियामा समेत सहयोग गरेको संयोजक सुब्बाले जनाए।

उद्धार भइसकेपछिको प्रक्रिया

सुजन सार्की ३० जुलाईका दिन, भने आनन्द पाण्डे र वीरबहादुर गुरुङ ३१ जुलाईमा नेपाल फर्किएका हुन्। काठमाडौंस्थित PNCC कार्यालयमार्फत उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button