बारामा अर्जुनबाबु बने बैशाख महिनाको उत्कृष्ट प्रहरी

14

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुनबाबु खतिवडा बैशाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन् । उनलाई कार्य सम्पादनको दृष्टिकोणले बारामा ” बैशाख महिनाको उत्कृष्ट प्रहरी” घोषित गरिएको हो ।उनको इमानदारिता, कर्तव्यपरायणता र जनमैत्री सेवाप्रति देखिएको उच्च समर्पणको मूल्यांकन गर्दै कार्यालयले उनलाई यो सम्मान प्रदान गरेको हो।

खतिवडालाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले उत्कृष्ट प्रहरी भन्दै सम्मान सहित प्रमाणपत्रमा हस्ताक्षर गरि हस्तान्तरण गरेका छ्न।

खतिवडालाई सो प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले प्रदान गरेका हुन्।इलाका प्रहरी कार्यालय परवानीपुर बारा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा खतिवडा कार्यरत रहेका छन्।

खतिवडाले अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा रही निरन्तर रुपमा लगनशील भई व्यवसायिकता प्रदर्शन गर्दै आएको प्रमाणपत्रमा उल्लेख छ। अर्जुनले देखाएको समर्पण सबैका लागि प्रेरणादायक भएको र यस्ता कर्मठ प्रहरीहरुले नै संस्थाप्रति जनविश्वास बढाउँने एसपी तामाङ्गले बताए ।”

उनले बैशाख २० गते राति बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ३ बतरा टोल स्थित कोल्बीबाट बतारातर्फ आउने सडकखण्डमा नन्दकिशोर मुखिया बिनले चलाएको प्रदेश २–०३–००१ त ४८७६ नं. को ट्रयाक्टरको ट्रेलरलाई जाँच गरेका हुन्।

सो ट्रयाक्टर मुनि फल्स बटम बनाई लुकाउ छिपाउ गरी मकवानपुरबाट बारातर्फ ल्याउदै गरेको २२५ के.जी. (दुई सय पच्चिस किलोग्राम) गाँजा सहित तीन जना मानिस पक्राउ गरी कानून बमोजिम अनुसन्धानको दायरामा ल्याई लागुऔषध नियन्त्रणमा योगदान उनले पुर्‍याएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराको अपराध नियन्त्रण तथा अनुसन्धान शाखालाई पिल्लर पद्धतिमा कार्य सञ्चालन गर्ने गरीको सुविधासम्पन्न कार्य वातावरण तयारका लागि विभिन्न समन्वयकारी निकायसँग समन्वय र उत्कृष्ट व्यवस्थापकीय कार्यक्षमता प्रदर्शन गर्दै शाखा व्यवस्थापन र अभिलेख प्रणाली विकासमा अहम भूमिका उनले निर्वाह गरेका हुन्।

आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले निर्वाह गरी विभागीय नीति निर्देशनलाई सर्वोपरी आत्मसाथ गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पादन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले निजले सम्पादन गरेको उत्कृष्ट कार्यको कदर स्वरूप खतिवडालाई पुरस्कृत गरिएको हो।

अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव परी कार्यक्षमतामा अझ बढी प्रभावकारिता आउने भएकोले निज प्रहरी नयाव निरीक्षक अर्जुनबाबु खतिवडालाई “बैशाख महिनाको उत्कृष्ट प्रहरी” घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अर्जुनले यो सम्मान प्राप्त गरेपछि छोटो प्रतिक्रिया दिँदै भने, “यो सम्मानले अझ कर्तव्यप्रति जिम्मेवार बन्न प्रेरणा मिलेको छ। म जनताको सुरक्षाका लागि सधैं तत्पर रहनेछु।”

जिल्ला प्रहरी कार्यालय बाराले हरेक महिनामा उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रहरीलाई सम्मानित गर्दै आएको छ, जसले सेवा प्रवाहमा पारदर्शिता र प्रतिस्पर्धा बढाएको छ।

Leave a comment