“छिपहरमाईका लेखापाल महतोको बदमासी: कार्यालय नगएर सेवाग्राहीलाई सास्ती”

2

वीरगंज, पर्सा। पर्साको छिपहरमाई गाउँपालिकाका लेखापाल मन्दिप महतो कार्यभार सम्हालेदेखि अहिलेसम्म कहिल्यै कार्यालय नगएको कुरा बाहिर आएको छ। उनी वीरगंजमै बसेर गाउँपालिकाको कार्यालय चलाइरहेको आरोप लागेको छ। कार्यालय नगइकन मात्र होइन, उनले हचुवाको आधारमा काम गर्दै आएका छन् र वीरगंजबाटै फाइलहरू मगाएर काम गरिरहेको पनि खुलासा भएको छ।

महतोको लापरवाहीका कारण सेवाग्राहीहरूले चरम सास्ती भोग्न बाध्य भएका छन्। स्रोतका अनुसार, उनले गाउँपालिकाका वित्तीय र प्रशासनिक कार्यहरू वीरगंजबाटै सञ्चालन गरेका छन्। कार्यालय नआइकन नै महतोले महत्वपूर्ण कागजातहरू स्वीकृत गर्ने, भुक्तानी प्रक्रिया अगाडि बढाउने, र अन्य प्रशासनिक कार्यहरू गरिरहेको आरोप छ। यस कारण गाउँपालिकाका अन्य कर्मचारी र सेवाग्राहीहरू असन्तुष्ट छन्।

स्थानीय बासिन्दाले पटक-पटक यो विषय बारे गाउँपालिकाका उच्च अधिकारीहरू र सम्बन्धित निकायलाई जानकारी गराए पनि कुनै ठोस कारबाही भएको छैन। यस विषयमा प्रश्न उठाइएको छ कि यदि सरकारी कर्मचारीले आफ्ना जिम्मेवारीमा यति लापरवाही देखाउँछन् भने सर्वसाधारणले कसरी उचित सेवा पाउने?

विश्लेषकहरूको भनाइ अनुसार, यस्तो लापरवाही सामान्य कुरा होइन। यदि कार्यालय नगइकन प्रशासनिक कार्यहरू सम्पन्न भइरहेका छन् भने, यसमा अनियमितताको उच्च सम्भावना रहेको आशंका गरिएको छ। सरकारी ढुकुटीबाट रकम निकासी गर्ने, विभिन्न योजनाका बजेट व्यवस्थापन गर्ने जस्ता कार्यहरू बिना कुनै अनुगमन वीरगंजबाटै भइरहेका छन् भन्ने आशंका बढेको छ।

नेपालको कानुनअनुसार कुनै पनि सरकारी कर्मचारीले आफ्नो तोकिएको कार्यक्षेत्रमा उपस्थित भई सेवा दिनुपर्ने हुन्छ। तर लेखापाल महतो कार्यभार सम्हाले देखि हाल सम्म अर्थात ८ महिनासम्म गाउँपालिकामा नजाँदा पनि किन कारबाही नभएको हो? र किन सरकारी नियम उल्लङ्घन गर्दा पनि सम्बन्धित निकाय मौन बसिरहेको छ? यो गम्भीर प्रश्न उठेको छ।

लेखापाल महतो पोखरिया र छिपहरमाई गाउँपालिकाका लागि जिम्मेवार छन्, तर उनी छिपहरमाईमा कहिल्यै जानुभएको छैन। यसकै कारण उनी अत्यधिक विवादास्पद र बदनाम कर्मचारीका रूपमा चिनिएका छन्। साभार: birgunjexpress

Leave a comment