मधेस प्रदेशसमाचारस्थानीय

प्रतिबन्धित पटका कलैया बजारमा छ्यापछ्याप्ती, प्रहरी प्रशासनको मौनतामाथि गम्भीर प्रश्न

कलैया–दिपावली तथा छठ पर्वको अवसर पारेर बाराको सदरमुकाम कलैया बजारमा प्रतिबन्धित पटका तथा विस्फोटक पदार्थ खुलेआम बिक्री भइरहेको पाइएको छ। कानुनले प्रतिबन्ध लगाएका पटका बजारका विभिन्न पसल तथा सडक किनारमा छ्यापछ्याप्ती बिक्री भइरहँदा पनि प्रहरी प्रशासनले प्रभावकारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गर्न थालेका छन्।
बजारमै प्रतिबन्धित पटका खुलेआम बिक्री भइरहँदा प्रहरी प्रशासन भने देखेर पनि नदेखेझैँ गरिरहेको आरोप स्थानीयले लगाएका छन्। सुरक्षा निकायको आँखा अगाडि नै कानुनविपरीतका सामग्रीको कारोबार भइरहनुले प्रहरीको निगरानी, सक्रियता र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
पटका बिक्री तथा प्रयोगबाट हुने सम्भावित दुर्घटना, आगलागी, जनधनको क्षति र ध्वनि प्रदूषण रोक्न सरकारले प्रतिबन्ध लगाएको हो। तर, प्रतिबन्ध कागजमै सीमित हुने र बजारमा खुलेआम कारोबार चलिरहने हो भने सरकारी निर्णयको औचित्य नै के रहन्छ भन्ने प्रश्न उठ्न थालेको छ।
विशेषगरी बालबालिका तथा युवाहरूले सहजै खरिद गर्न सक्ने गरी पटका बिक्री भइरहेको अवस्थाले थप जोखिम निम्त्याएको छ। सानो लापरबाहीले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्ने विस्फोटक सामग्रीको कारोबारमा सम्बन्धित निकायको बेवास्ता अत्यन्तै चिन्ताजनक विषय हो।
प्रहरी प्रशासनले चाडपर्व लक्षित सुरक्षा योजना बनाउने, शान्ति सुरक्षा कायम गर्ने र अवैध गतिविधि नियन्त्रण गर्ने दाबी गर्दै आए पनि कलैया बजारको अवस्थाले ती दाबीको कार्यान्वयनमाथि प्रश्न उठाएको छ। प्रतिबन्धित सामग्री बिक्री भइरहेको स्थान पहिचान गरी तत्काल नियन्त्रणमा लिन नसक्नु प्रशासनिक कमजोरी हो कि जानाजान गरिएको बेवास्ता भन्ने विषयमा पनि स्पष्ट जवाफ आवश्यक छ।
अब प्रहरी प्रशासनले औपचारिक सूचना जारी गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन। बजारमा अनुगमन गरी प्रतिबन्धित पटका जफत गर्ने, बिक्रीमा संलग्नलाई कानुनी दायरामा ल्याउने र कारोबारमा संलग्न सम्भावित सञ्जालको समेत अनुसन्धान गर्न आवश्यक छ।
कानुन सर्वसाधारणका लागि मात्रै हो कि कानुनविपरीत कारोबार गर्नेहरूका लागि पनि हो? प्रहरी प्रशासनले देखेर पनि नदेखेझैँ गर्ने हो भने प्रतिबन्धको अर्थ के रहन्छ? कलैयाका नागरिकले अहिले यही प्रश्नको जवाफ खोजिरहेका छन्। चाडपर्वको नाममा विस्फोटक पदार्थको खुला कारोबारलाई छुट दिने होइन, तत्काल नियन्त्रण गरेर नागरिकको सुरक्षा सुनिश्चित गर्नु प्रहरी प्रशासनको पहिलो दायित्व हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button