मधेस प्रदेशसमाचारसमाज
प्रादेशिक अस्पताल कलैयाको सेवा सुधार्न सिडिओ अधिकारीको छड्के अनुगमन

बारा– बाराको प्रादेशिक अस्पताल कलैयामा सेवा प्रवाह, सरसफाइ तथा व्यवस्थापनलाई लिएर सेवाग्राहीको गुनासो बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले शुक्रबार अस्पतालको छड्के अनुगमन तथा स्थलगत निरीक्षण गरेका छन्। अस्पतालको वास्तविक अवस्था बुझ्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रममा उनले अस्पताल प्रशासनलाई विभिन्न सुधारका लागि निर्देशन दिएका छन्।
अनुगमनका क्रममा अस्पतालको भित्री तथा बाहिरी परिसरमा देखिएको फोहोरप्रति असन्तुष्टि जनाउँदै प्रजिअ अधिकारीले सरसफाइकर्मीलाई प्रभावकारी रूपमा परिचालन गरी अस्पताल परिसर तत्काल सफा राख्न निर्देशन दिए। चिकित्सक बस्ने कोठा, उपचार कक्ष तथा अन्य सेवा प्रवाह हुने स्थानसमेत स्वच्छ र व्यवस्थित हुनुपर्नेमा जोड दिँदै आगामी अनुगमनमा अस्पताल परिसरमा फोहोर देखिए जिम्मेवार पक्षले जवाफ दिनुपर्ने स्पष्ट सन्देश दिएका छन्।
अधिकारीले अस्पतालमा कार्यरत कर्मचारीको स्वीकृत दरबन्दी, पदपूर्तिको अवस्था, कर्मचारीको हाजिरी तथा दैनिक ड्युटी तालिकासमेत निरीक्षण गरेका थिए। कर्मचारीको ड्युटी तालिका सेवाग्राहीले समेत सजिलै देख्न सक्ने स्थानमा राख्न निर्देशन दिँदै उपलब्ध जनशक्तिको उचित व्यवस्थापन र अधिकतम उपयोग गर्नुपर्ने बताए। जनशक्ति अभावको बहानामा नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा प्रभावित हुन नहुने उनको भनाइ थियो।
त्यस्तै, बहिरङ्ग सेवा (ओपीडी) लाई थप व्यवस्थित र सहज बनाउन निर्देशन दिँदै अस्पतालमा उपलब्ध स्वास्थ्य उपकरण तथा मेसिनहरू प्रयोगविहीन अवस्थामा राख्न नहुने बताए। सञ्चालन गर्न सकिने सबै उपकरण नियमित रूपमा सञ्चालनमा ल्याउन र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनले अस्पताल प्रशासनको ध्यानाकर्षण गराए।
अस्पतालको प्रयोगशाला (ल्याब) सेवाप्रति सेवाग्राहीबाट गुनासो आइरहेको विषयलाई गम्भीरतापूर्वक लिँदै अधिकारीले नमुना सङ्कलन गर्ने समय र परीक्षणको प्रतिवेदन उपलब्ध गराउने अवधि स्पष्ट उल्लेख गरी प्रयोगशालाको अगाडि सूचना टाँस्न निर्देशन दिएका छन्। यसले सेवाग्राहीलाई अनावश्यक झन्झट र अन्योलबाट मुक्त गराउने उनको अपेक्षा छ।
अनुगमनका क्रममा रेडियोलोजी सेवाको अवस्थासमेत चासोका साथ हेरिएको थियो। अस्पतालमा दुईवटा रेडियोलोजी मेसिन रहे पनि एउटा मात्र सञ्चालनमा रहेको र अर्को पुरानो मेसिन मर्मत हुन नसकेको विषय उठेको थियो। एक्सरे मेसिनको अवस्थासमेत सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सञ्चालनमा रहेका मेसिनलाई आवश्यकताअनुसार अद्यावधिक गर्न तथा मर्मतबाट सम्भव नभए नयाँ उपकरणले प्रतिस्थापन गर्नुपर्ने अधिकारीले बताए। यसका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउन उनले निर्देशन दिएका छन्।
त्यसैगरी, अस्पतालबाट नागरिकलाई उपलब्ध गराइने निःशुल्क औषधिको व्यवस्थापन, आम्दानी तथा खर्चको विवरण पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै आर्थिक कारोबार र औषधि वितरणसम्बन्धी विवरण व्यवस्थित रूपमा सार्वजनिक गर्नुपर्ने बताए। अस्पतालको सेवा सुधारका लागि आर्थिक पारदर्शिता, जनशक्ति व्यवस्थापन, उपकरणको सदुपयोग र नियमित सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
अनुगमनका क्रममा अस्पताल प्रशासनले सरसफाइमा विशेष ध्यान दिने तथा उपलब्ध उपकरण र जनशक्तिको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ। प्रजिअ अधिकारीले निर्देशन कार्यान्वयन भए–नभएको विषयमा आगामी दिनमा समेत अनुगमन गरिने संकेत दिएका छन्।
अनुगमन तथा छलफलमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डल, सूचना अधिकारी केविन्द्र प्रसाद यादव, लेखा प्रमुख रामबालक प्रसाद यादव, सुब्बा केविन्द्र यादव तथा जेनजी एन्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेलगायतको उपस्थिति रहेको थियो।
अस्पतालको सेवा सुधारका लागि भएको यो छड्के अनुगमनले निर्देशनमा मात्र सीमित नभई कार्यान्वयनमा समेत गति लिनुपर्ने स्थानीयको अपेक्षा छ। नागरिकले सामान्य उपचार र परीक्षणका लागि समेत सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य गर्दै अस्पताललाई व्यवस्थित र भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास गर्नु अहिलेको मुख्य आवश्यकता देखिएको छ।



