समाचार

मौलापुरमा बाँदरको त्रास : घरदेखि अस्पतालसम्म आक्रमण, १५ जना घाइते

 । रौतहटको मौलापुर बजारमा एउटा जङ्गली बाँदर सर्वसाधारणका लागि त्रासको कारण बनेको छ।

बस्ती, पसल हुँदै अस्पताल परिसरमै पुगेर मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी आतंकित बनेका छन्। मंगलबारदेखि बुधबार बिहानसम्म बाँदरको आक्रमणबाट करिब १५ जना घाइते भइसकेका छन्।

मौलापुर बजारस्थित स्मार्ट चौक आसपास केन्द्रित बाँदरको गतिविधि अहिले स्थानीयका लागि ठूलो चुनौती बनेको छ। बाँदर घर तथा पसलभित्र प्रवेश गर्ने र भेटिएका मानिसमाथि अचानक आक्रमण गर्ने गरेको स्थानीयको भनाइ छ।

बाँदरको आतंकबाट मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रसमेत अछुतो रहन सकेको छैन। अस्पतालको प्राङ्गणमै बाँदर पुगेर आक्रमण गर्न थालेपछि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई नियमित काम गर्न कठिनाइ भइरहेको छ। अस्पतालजस्तो संवेदनशील स्थानमै असुरक्षा बढेपछि स्थानीयले तत्काल नियन्त्रणको पहल गर्न माग गरेका छन्।

घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसीले प्रहरीसँग बाँदर नियन्त्रणमा लिन आवश्यक उपकरण नभएको बताएका छन्।

उनका अनुसार बाँदरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय रौतहटसँग सहयोग माग गरिएको छ।

बाँदरको आक्रमणबाट थप मानिस घाइते हुन सक्ने जोखिम बढ्दै गए पनि नियन्त्रणको जिम्मेवारी कसले र कसरी लिने भन्ने विषयमा स्थानीयको चासो बढेको छ।

स्थानीयवासीले मौलापुर नगरपालिका, प्रहरी प्रशासन तथा वन कार्यालयबीच समन्वय गरी तत्काल विशेषज्ञ टोली परिचालन गर्न माग गरेका छन्। समयमै नियन्त्रणको प्रयास नभए बजार क्षेत्रका सर्वसाधारण र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी थप जोखिममा पर्न सक्ने उनीहरूको चिन्ता छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button