अन्तर्राष्ट्रियराजनीतिसमाचार

भाजपा अध्यक्ष नितिन नविन र राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवबीच भेटवार्ता, नेपाल–भारत सम्बन्ध र सनातन सभ्यताबारे छलफल

 काठमाडौं — भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नविन र नेपालस्थित राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवबीच भेटवार्ता भएको छ। भारत प्रवासमा रहेका यादव र नविनबीच भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, दुवै देशको समसामयिक राजनीतिक तथा सामाजिक अवस्था र साझा सनातन सभ्यताको ऐतिहासिक महत्त्वबारे छलफल भएको बताइएको छ।

भेटका क्रममा नेपाल र भारतबीच परापूर्वकालदेखि कायम रहँदै आएको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। दुवै देशबीचको ऐतिहासिक निकटता र साझा सांस्कृतिक विरासतलाई आपसी सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

राष्ट्रिय एकता दलका अध्यक्ष यादवले आगामी मंसिर ४ गतेदेखि नेपालमा ‘हिन्दू सुरक्षा र हिन्दू राष्ट्र’ मुख्य एजेन्डासहित मेची–महाकाली पदयात्रा सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ। उक्त अभियानको तयारी तथा भारत प्रवासका क्रममा उहाँले भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट र संवादलाई अघि बढाउनुभएको हो।

नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धका अतिरिक्त खुला सीमा, पारिवारिक सम्बन्ध, व्यापार, पर्यटन र जनस्तरको आवागमनजस्ता विषयले पनि विशेष महत्त्व राख्दै आएका छन्। यस सन्दर्भमा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा भएको उक्त भेटलाई राजनीतिक तथा सांस्कृतिक संवादका रूपमा हेरिएको छ।

भेटवार्ताले नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धका विषयमा थप संवादको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button