इनम सापकोटासँग नाम जोडिएपछि प्रधानन्यायाधीश शर्माले खोले मुख

काठमाडौं, १२ कात्तिक । बिचौलिया इनम सापकोटासँग नाम मुछिएपछि प्रधानन्यायाधीश मनोजकुमार शर्माले मुख खोलेका छन् । बिहीबार उनले
विज्ञप्ति जारी गर्दै आफूलक्षित समाचारको खण्डन गरेका छन् ।
सञ्चारमाध्यममा आफ्नोसमेत नाम जोडेर घुस लेनदेन भएको समाचार आएको भन्दै शर्माले त्यसको औपचारिक रूपमा खण्डन गरेका हुन् ।
‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन । मैले कहिँकतै भेटेको पनि छैन,’ उनले भनेका छन्, ‘उक्त प्रसंगमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर, जनवरीमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ ।’
शर्माले त्यसलाई नै आधार बनाएर अहिले आएका समाचारहरू आधारहीन र झुठा रहेको दावी लिएका छन् ।
‘यसरी आधारहीन, झुठ्ठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु । यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध समेत गर्दछु,’ प्रधानन्यायाधीश शर्माले भनेका छन् ।
सापकोटाले न्यायाधीश हरि फुयाँलसँग ह्वाट्सएपमा गरेको म्यासेजमा प्रधानन्यायाधीश र प्रधानमन्त्रीको नामसमेत उल्लेख छ ।




