समाचार

रौतहट प्रहरीको अढाइ महिनाको उपलब्धि: ६६६ उजुरीमध्ये ५७२ फर्छ्योट

 रौतहट प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि असोज २० गतेसम्म (दुई महिना २० दिन) को अवधिमा भन्सार छलीका सामान बरामद गरी ५७ लाख ५३ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यसै अवधिमा विभिन्न मुद्दाका १३५ जना प्रतिवादी पक्राउ परेका छन् भने सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रगति विवरणअनुसार समीक्षा अवधिमा २५१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १५६ वटा फर्छ्योट भइसकेका छन् भने ९५ वटा अनुसन्धानकै क्रममा छन्।

 

१८१ दुर्घटना, ३६५ घाइते
साउनदेखि असोज २० गतेसम्म जिल्लामा १८१ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनुका साथै ३६५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन तथा चालकमाथि कारबाही गरी २० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, लागुऔषधसम्बन्धी पाँचवटा मुद्दामा छ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ५ किलो १६५ ग्राम गाँजा, १५ ग्राम १६५ मिलिग्राम ब्राउनसुगर र ७१ पिस मनोद्वीपक (नाइट्रोभेट/साइकोट्रोपिक) पदार्थ बरामद गरिएको छ।

 

अवैध कारोबारविरुद्ध कडाइ
भन्सार छली नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गर्नुका साथै अवैध सामान ओसारपसारमा प्रयोग गरिएका पाँचवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। यसबाट ५७ लाख ५३ हजार ३६३ रुपैयाँ राजस्व दाखिला भएको छ।

त्यसैगरी, नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न २६ वटा सवारीसाधन र आठ जनालाई कारबाही गरी १ लाख ४५ हजार ५०० रुपैयाँ राजस्व उठाइएको छ।

अवैध काठ ओसारपसारविरुद्धको कारबाहीमा चारवटा साइकल र तीनवटा ट्र्याक्टर नियन्त्रणमा लिइनुका साथै २३१ घनफिट काठ बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ। उक्त कारबाहीबाट २ लाख ६७ हजार ४५ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

६६६ उजुरीमध्ये ५७२ फर्छ्योट
नागरिकका गुनासा सम्बोधन गर्ने क्रममा दर्ता भएका ६६६ वटा ठाडो उजुरीमध्ये ५७२ वटा फर्छ्योट (समाधान) भएका छन् भने बाँकी ९४ वटा उजुरी प्रक्रियामै रहेका छन्।

फैसला कार्यान्वयनतर्फ पक्राउ परेका १३५ जना प्रतिवादीबाट ६६ लाख ६३ हजार ९७० रुपैयाँ जरिवाना असुल हुनुका साथै ६७ वर्ष १ महिना ४ दिन कैद भुक्तान गराइएको छ।

दरबन्दीभन्दा ८५ जना प्रहरी कम
१ हजार १२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रौतहटमा ८ लाख १३ हजार ५७३ जनसंख्या रहेको छ। जिल्लामा प्रहरीको स्वीकृत दरबन्दी ९०४ रहे पनि हाल ८१९ जना मात्रै कार्यरत छन्।

समीक्षा अवधिमा प्रहरीबाट प्रवाह गरिएका विभिन्न सेवाबाट १८ हजार ७५३ जना लाभान्वित भएका छन्। लाभान्वित हुनेहरूमा ४ हजार ५२८ महिला, १३ हजार ५६१ पुरुष र ६६४ बालबालिका रहेका छन्।

प्रहरी कर्मचारीको कार्यसम्पादन, प्रोत्साहन तथा क्षमता विकासका लागि ११ जनालाई पुरस्कृत, १२ जनालाई कारबाही र ३५ जनालाई तालिम प्रदान गरिएको एसपी रिजालले जानकारी दिए।

प्रहरीले अपराध अनुसन्धान, फैसला कार्यान्वयन, लागुऔषध नियन्त्रण, अवैध कारोबार रोकथाम, ट्राफिक व्यवस्थापन तथा नागरिकका गुनासा समाधानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button