छात्रामाथि ब्लेड प्रहार गर्ने मुख्य योजनाकार तीन दिनमै पक्राउ

मधेश प्रदेश संग जोडिएको भारतको बिहारस्थित मुजफ्फरपुरमा छात्रामाथि ब्लेड प्रहार भएको घटनाको तीन दिनमै प्रहरीले मुख्य योजनाकारलाई पक्राउ गरेको छ । बरुराज थाना क्षेत्रको चौरवन पुलियानजिक मोटरसाइकलमा आएका युवकले छात्राको दाहिने हातमा ब्लेड प्रहार गरेको घटनामा प्रहरीले संजित कुमारलाई पक्राउ गरेको हो ।
घटनालगत्तै मुजफ्फरपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कान्तेश कुमार मिश्रले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानलाई तीव्रता दिएका थिए । एसएसपी मिश्र आफैं २२ सेप्टेम्बरमा घटनास्थल पुगेर अवस्थाको निरीक्षण गर्नुका साथै पीडित छात्रासँग घटनाबारे जानकारी लिएका थिए ।
२१ सेप्टेम्बरमा भएको घटनापछि बरुराज प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै पश्चिमी–१ की अनुमण्डल प्रहरी उपाधीक्षक (एसडीपीओ) सुचित्रा कुमारीले पनि घटनास्थलको निरीक्षण गरेकी थिइन् ।
पीडितको जाहेरीका आधारमा बरुराज थाना काण्ड नम्बर १८१/२६ दर्ता भएपछि एसएसपी मिश्रको निर्देशनमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो । ग्रामीण एसपीको निगरानी तथा एसडीपीओ पश्चिमी–१ को नेतृत्वमा गठित टोलीले प्राविधिक तथा मानवीय सूचनाका आधारमा सम्भावित स्थानमा निगरानी र छापा अभियान चलाएको थियो ।
लगातारको अनुसन्धानपछि प्रहरीले २४ सेप्टेम्बरमा बरुराजका संजित कुमारलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना प्रेम–प्रसंगसँग जोडिएको देखिएको छ ।
प्रहरीले संजितलाई घटनाको मुख्य योजनाकारका रूपमा उल्लेख गरेको छ । घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको आशंका रहेकाले उनीहरूको खोजीका लागि प्रहरीले थप छानबिन तथा छापा अभियान जारी राखेको जनाएको छ ।
घटनापछि एसएसपी मिश्रको प्रत्यक्ष चासो, घटनास्थल निरीक्षण र विशेष टोली परिचालनमार्फत अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले प्रविधिको प्रयोगसँगै मानवीय सूचनालाई समेत आधार बनाएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।



