म्याक्रोनले भने- बमबारी गरेर इरानामा सत्ता परिवर्तन गर्ने कुरा व्यावहारिक छैन

न्युयोर्क, ७ असोज । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले होर्मुज जलसन्धि भएर हुने आवातजावतलाई सहज र सम्भव बनाउन फ्रान्स थप सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन्।
अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोनले होर्मुज जलसन्धिको सन्दर्भमा आफू "कुनै पनि मुलुकसँग द्वन्द्वमा उत्रिन नचाहेको तर त्यहाँबाट हुने आवातजावतलाई सम्भव बनाउन र केही क्षमताहरूको रक्षा गर्न थप सक्रिय भूमिका खेल्न तयार रहेको" स्पष्ट पारे।
म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो भेटवार्ताको "मुख्य उद्देश्य" उक्त महत्त्वपूर्ण जलमार्गलाई खुला राख्न र बढ्दो विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि "सही सम्झौता खोज्नु" रहेको बताएका छन्।
सो क्रममा उनले सुरुमै सैन्य कारबाहीमा जाने अमेरिकी निर्णयको आलोचना गर्दै भने, "कुनै देशमा बमबारी गरेर सत्ता परिवर्तन गर्ने कुरा मलाई व्यावहारिक लाग्दैन। यसले काम गर्दैन र विगतका दशकहरूमा हामीले धेरै पटक यस्तो गल्ती गरिसकेका छौँ।"
यसअघि युद्धमा अमेरिकालाई सहयोग नगर्ने फ्रान्सको निर्णयबारे प्रस्ट पार्दै म्याक्रोनले भने, "जब तपाईं अरूलाई कुनै कार्यमा संलग्न गराउन चाहनुहुन्छ, तब उनीहरूसँगै रणनीति बनाउनुहुन्छ र युद्ध सुरु गर्नुअघि परामर्श गर्नुहुन्छ। हामीले यस युद्धमा सामेल नहुने निर्णय गर्यौँ किनभने हामीले यसलाई सही विकल्प ठानेनौँ र म अझै पनि यसलाई सही विकल्प मान्दिनँ।"



