बहिराहरूसँग कसरी ब्यावहार र सम्मान गर्ने ? जानकारी लिनुहाेस्

काठमाडाैं, ७ असाेज । विश्वभरका बहिरा (बोल्न तथा सुन्न समस्या भएका) व्यक्तिहरूको अधिकार, पहिचान र सांकेतिक भाषाको महत्त्वलाई उजागर गर्ने उद्देश्यका साथ आज सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको साधारण सभाले १९ डिसेम्बर २०१७ मा निर्णय गर्दै प्रत्येक वर्षको सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।
उसाे भए अब श्रवण अपाङ्गता भएका अर्थात बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूसँग व्यवहार गर्दा र सम्मान प्रकट गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण र व्यावहारिक तरिकाहरूका बारेमा जानकारी लिनुहाेस् ।
१. कुराकानी सुरु गर्दा र ध्यान आकर्षित गर्दा
सालीन तरिकाले ध्यान खिच्नुहोस्: पछाडिबाट एक्कासी नछुनुहोस्। उनीहरूको अगाडि गएर बिस्तारै हात हल्लाउने वा काँधमा हल्का थिचेर ध्यान आकर्षित गर्नुहोस्।
उज्यालो ठाउँमा उभिनुहोस्: कुराकानी गर्दा उज्यालो तपाईंको अनुहारमा पर्ने गरी उभिनुहोस् ताकि उहाँहरूले तपाईंको अनुहार र ओठको चाल स्पष्ट देख्न सकून्।
२. सञ्चार गर्दा ध्यान दिनुपर्ने कुराहरू
आँखामा हेरेर कुरा गर्नुहोस्: कुरा गर्दा सधैँ उनीहरूको आँखामा हेरेर कुरा गर्नुहोस्। दोभासे छ भने पनि दोभासेलाई नभई सोझै बहिरा व्यक्तिलाई नै हेरेर बोल्नुहोस्।
ओठ नछोप्नुहोस्: बोल्दा मुखमा हात राख्ने, गम वा खानेकुरा चपाउने वा चुरोट पिउने नगर्नुहोस्।
सामान्य गति र प्रष्ट स्वरमा बोल्नुहोस्: धेरै छिटो वा धेरै ढिलो नबोली सामान्य रूपमा प्रष्टसँग बोल्नुहोस्। ठूलो स्वरले कराउँदैमा उनीहरूले सुन्ने हाेइन्, त्यसैले कराउनु आवश्यक छैन।
शारीरिक भाषा र भावको प्रयोग गर्नुहोस्: कुराकानीलाई प्रभावकारी बनाउन उपयुक्त हावभाव (Gestures) र अनुहारको अभिव्यक्ति (Facial Expressions) को प्रयोग गर्नुहोस्।
लेखेर वा प्रविधिको प्रयोग गर्नुहोस्: यदि भाषा बुझ्न गाह्रो भयो भने कापी-कलममा लेखेर वा मोबाइलको नोटप्याड/मेसेजमा टाइप गरेर कुरा गर्न सक्नुहुन्छ।
३. सम्मान र दृष्टिकोण
समानताको व्यवहार गर्नुहोस्: उनीहरूलाई दया वा सहानुभूति होइन, अवसर र समानताको आवश्यकता हुन्छ। अन्य सामान्य व्यक्ति सरह नै सम्मानजनक व्यवहार गर्नुहोस्।
सांकेतिक भाषाको सम्मान गर्नुहोस्: सांकेतिक भाषा एक पूर्ण र समृद्ध भाषा हो। यसलाई कम नआँक्नुहोस् र सम्भव भए केही आधारभूत सांकेतिक शब्दहरू (जस्तै: नमस्ते, धन्यवाद, कस्तो छ) सिक्ने प्रयास गर्नुहोस्।
उनीहरूको विचार र निर्णयको कदर गर्नुहोस्: उनहरूको तर्फबाट अरू कसैले निर्णय गरिदिने भन्दा पनि उनीहरूकै इच्छा र निर्णयलाई प्राथमिकता दिनुहोस्।
धैर्य धारण गर्नुहोस्: कुराकानीका क्रममा एक-अर्कालाई बुझ्न केही समय लाग्न सक्छ, त्यसैले हतार नगरी धैर्यताका साथ सुन्ने र बुझ्ने कोसिस गर्नुहोस्।
तपाईंको सानो सजगता र सम्मानजनक व्यवहारले उहाँहरूलाई समाजमा समान र समावेशी महसुस गराउन ठूलो मद्दत पुर्याउँछ।


