समाचार

ग्रामीण बाटो हुँदै तीन नेपाली नाबालिका भारत लैजाँदै गर्दा अन्सारी पक्राउ

नेपाल-भारत सीमामा सुरक्षा निगरानी बढेपछि तस्करी तथा अवैध आवतजावतका लागि ग्रामीण बाटो प्रयोग हुने गरेको चर्चा चलिरहेकै बेला तीन नेपाली नाबालिकालाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

मकवानपुरको राई गाउँका तीन नाबालिकालाई परिवारको जानकारीबिनै भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले २३ वर्षीय सलाउद्दीन अन्सारीलाई भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार अन्सारीले नाबालिकालाई प्रलोभनमा पारी भारत लैजान खोजेको आशंका गरिएको छ। मुख्य सीमा नाकामा सुरक्षा कडाइ भएपछि ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरी नाबालिकालाई सीमा कटाउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय प्रहरीले जनाएको छ।

उद्धार गरिएका नाबालिकामा १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्ट रहेका छन्।

अन्सारीको साथबाट एउटा इलेक्ट्रिक स्कुटर, पाँच थान मोबाइल, आधार कार्ड, प्यान कार्ड, नेपाली रुपैयाँ ५१० र भारतीय रुपैयाँ ५२० समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्सारी पूर्वी चम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका बासिन्दा हुन्। उनीमाथि भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको छ।

घटनाले सीमावर्ती क्षेत्रमा मुख्य नाकाको निगरानीसँगै ग्रामीण बाटोमा समेत सुरक्षा संयन्त्रको निगरानी आवश्यक रहेको देखाएको छ। विशेषगरी परिवारको जानकारीबिना नाबालिकालाई प्रलोभनमा पारेर सीमा पार गराउने प्रयासले मानव बेचबिखन तथा शोषणको जोखिमतर्फ समेत प्रश्न उठाएको छ। यद्यपि अन्सारीमाथिको आरोपबारे थप अनुसन्धान र कानुनी प्रक्रियाबाटै तथ्य खुल्नेछ।

मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले अदालतबाट आवश्यक प्रक्रिया पूरा गरेपछि उद्धार गरिएका नाबालिकालाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइने बताएका छन्। आरोपी माथी कानुन अनुसार कडा कारवाही हुने उनले जानकारी दिएका छन्।

रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालले घटनाको पुष्टि गर्दै भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए। भारततर्फको कानुनी प्रक्रिया पूरा भएपछि नाबालिकालाई गौर ल्याएर अभिभावकको जिम्मा लगाइने उनले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button