भदौमा पर्सा प्रहरीको कारबाही : एक करोड नाै लाखको अवैध सामानदेखि १०७ फरार प्रतिवादी पक्राउसम्म

रौतहट, ५ भदौ। जिल्ला प्रहरी कार्यालय पर्साले भदौ महिनामा भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणअन्तर्गत एक करोड नाै लाख नाै हजार ५९५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सोही अवधिमा लागूऔषध कारोबार नियन्त्रणमा २७ मुद्दा दर्ता गरी ४१ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागूऔषधतर्फ कारबाहीका क्रममा २२९ किलो ९३५ ग्राम गाँजा, ३५६ ग्राम ५१८ मिलिग्राम ब्राउन सुगर, नाै किलो ५७८ ग्राम चरेस र ३ ग्राम ७४० मिलिग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर मल्लले बताएका छन्।
त्यस्तै, अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत विभिन्न मुद्दामा फरार रहेका १०७ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूबाट २४ वर्ष तीन महिना २८ दिन कैद भुक्तानका लागि पठाइनुका साथै एक करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ पनि कारबाही तीव्र बनाएको जनाएको छ। भदौमा २३ वटा ट्याक्टर नियन्त्रणमा लिएर १ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, अवैध वन पैदावार नियन्त्रणअन्तर्गत ४१ क्युबिक फिट काठ र १० वटा साइकल बरामद गरी चार जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २ लाख ९१ हजार १०० रुपैयाँ राजस्व दाखिला भएको छ।
प्रहरी प्रवक्ता डिएसपी मल्लका अनुसार भदौ महिनामा जिल्लाभर विभिन्न प्रकृतिका १५४ वटा अपराधका मुद्दा दर्ता भएका छन्।
दर्ता भएका मुद्दामध्ये सामाजिक अपराधका ७७, संगठित तथा आर्थिक अपराधका २४, ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ११, चोरी नौ, महिला तथा बालबालिकासम्बन्धी नौ, सवारी ज्यान पाँच र अन्य आठवटा छन्। प्रहरीका अनुसार यी मुद्दाको अनुसन्धान तथा कारबाहीका क्रममा भदौ महिनामा १३८ जना प्रतिवादी पक्राउ परेका छन्।



