समाचार

कांग्रेस रौतहटले भोलिदेखि वडा अधिवेशनको प्रक्रिया थाल्ने

नेपाली कांग्रेस रौतहटले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि अधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ। शनिवार गरुडास्थित जिल्ला कार्यसमितिको विस्तारित बैठकले भोलि आइतबारदेखि वडा अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

जिल्ला सभापति सुनिलकुमार यादवको अध्यक्षतामा बसेको विस्तारित बैठकले वडा तहमा पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने निर्णय गरेको जिल्ला कार्यसमितिले जनाएको छ।

बैठकमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो। जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा विभिन्न तहका नेता–कार्यकर्ताको सहभागितामा बैठक सम्पन्न भएको हो।

बैठकमा वडा तहदेखि पार्टी संगठनलाई चलायमान बनाउने, स्थानीय तहमा संगठनात्मक गतिविधि विस्तार गर्ने तथा नेता–कार्यकर्ताबीच समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

कांग्रेस रौतहटका अनुसार वडा अधिवेशन सम्पन्न भएपछि क्रमशः पालिका, क्षेत्रीय हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाइनेछ। १५औँ राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन संगठनलाई वडा तहदेखि नै सुदृढ र व्यवस्थित बनाउँदै लैजाने रणनीति पार्टीले लिएको जनाएको छ। नेताहरूले अधिवेशनलाई संगठन पुनर्गठनसँगै स्थानीय तहमा पार्टीको सक्रियता बढाउने अवसरका रूपमा अघि बढाउने बताएका छन्।

यसैबीच नेपाली कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक जुट्न आह्वान गरे। बैठकमा पार्टीको एकता, अनुशासन र संगठन सुदृढीकरणमा जोड दिँदै वडा अधिवेशनलाई उत्साहपूर्वक सफल बनाउन सबै क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button