समाचार

हाइरोक्स फिटनेसमा जब अष्ट्रेलियन खेलाडीले दिशा पिशाव नियन्त्रण गर्न सकिनन्…

बेइजिङ,  बेइजिङमा आयोजित ‘हाइरोक्स’ फिटनेस प्रतियोगितामा भएको एउटा विवादास्पद घटनाले खेल भावना, सरसफाइ तथा खेलाडी र आयोजक दुवैको जिम्मेवारीबारे विश्वव्यापी चर्को बहस निम्त्याएको छ।

 

विवाद बढेपछि आयोजकले खेलाडीहरूलाई धम्की दिने वा उनीहरूमाथि हानि पुर्‍याउन प्रोत्साहन गर्ने जो कोहीलाई पनि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

के थियो विवादित घटना?

 

शनिबार बेइजिङमा भएको महिला ‘एलिट’ (उच्च-स्तरीय) दौडका क्रममा अस्ट्रेलियन खेलाडी जोआना विट्रिकलाई दिसा नियन्त्रण गर्न नसक्ने समस्या भएको थियो। तर, उनले दौड रोकिनन् र निरन्तर जारी राखिन्। अनलाइनमा फैलिएका भिडियो र तस्बिरहरूमा दौडका पछिल्ला चरणहरू पार गर्दै गर्दा उनको खुट्टामा दिसा लागेको देखिए पछि यो विषय सामाजिक सञ्जालमा तातेको हो।

 

विट्रिकले करिब एक घण्टामा दौड पूरा गर्दै जित समेत हासिल गरिन्। उनी यस खेलमा अग्रणी महिला खेलाडीहरूमध्ये एक हुन् र गत अप्रिलमा वार्सामा ५४ मिनेट २६ सेकेन्डको समय निकाल्दै उनले महिलातर्फको हाइरोक्स विश्व कीर्तिमान कायम गरेकी थिइन ।

 

आयोजकको भनाइ र प्रतिक्रिया सोमबार बिहान हाइरोक्सको आधिकारिक इन्स्टाग्राम खातामा जारी विज्ञप्तिमा आयोजकले जैविक प्रदूषण र स्वास्थ्यसम्बन्धी घटनाहरू व्यवस्थापन गर्न आफूसँग स्पष्ट कार्यविधिहरू रहे पनि यसपटक “अकल्पनीय परिस्थिति” उत्पन्न भएको उल्लेख गरेको छ।

 

हाइरोक्सको चिनियाँ शाखाले प्रतियोगितापछि प्रभावित क्षेत्र र दौडका लेनहरू अलग गरी निसंक्रमण गरिएको जनाएको छ। साथै, खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न “सही संरचना र सही मापदण्ड” प्रदान गर्नु आयोजकको जिम्मेवारी भएको स्वीकार गर्दै घटनाबारे छानबिन गर्ने र कार्यविधिमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।

 

नियम, सरसफाइ र निष्पक्षतामाथि प्रश्न हाइरोक्सको प्रतियोगितामा सबै खेलाडीले एउटै इनडोर वातावरण र उपकरण प्रयोग गर्ने भएकाले अन्य प्रतिस्पर्धीहरूको स्वास्थ्यलाई लिएर आलोचना भइरहेको छ, इन्स्टाग्राममा एक टिप्पणीकर्ताले लेखेका छन्, “दुर्घटनाहरू हुन्छन्, तर यो आधारभूत सरसफाइ र स्वच्छताको कुरा हो। दौडको मार्ग प्रदूषित गरिरहेकी खेलाडीलाई रोकेर सफा गरिनुपर्थ्यो।’

 

चिनियाँ सामाजिक सञ्जाल ‘रेडनोट’मा एक सहभागीले प्रश्न उठाए, “यदि कुनै खेलाडीको शारीरिक अवस्था यति खस्किएको थियो भने त्यहाँ खटिएका अधिकारीहरू र चिकित्सा टोली कहाँ थिए ? उनीहरूसँग खेलाडीलाई बाहिर निकाल्ने अधिकार किन प्रयोग भएन ?”

 

‘वेइबो’ मा प्रयोगकर्ताहरूले नियम पुस्तिकाको तुलना गर्दै लेखेका छन्, “भुइँमा थुक्दा वा नाक सफा गर्दा २ मिनेटको सजाय हुने नियम छ तर पूरै मार्ग फोहोर पार्न भने छुट दिइयो।”

 

यस घटनापछि दक्षिण चीनको सान्यामा हुने आगामी दौडमा भाग लिने योजना बनाएका लि हाओ जस्ता खेलाडीहरूले प्रतियोगिताबाट पछि हट्ने निर्णय गरेका छन्।

आयोजकको चेतावनी र विज्ञहरूको मत बढ्दो आक्रोशका बीच हाइरोक्सले भनेको छ, “निराशा वा आक्रोश कहिल्यै पनि खेलाडीहरूप्रति लक्षित हुनु हुँदैन,  सार्वजनिक टिप्पणी वा सन्देशमार्फत खेलाडीलाई धम्की दिनेलाई सबै हाइरोक्स कार्यक्रमहरूबाट स्थायी रूपमा प्रतिबन्धित गरिनेछ।”

 

यसैबीच बेइजिङस्थित खेलकुद टिप्पणीकार झु मेङले ‘ग्लोबल टाइम्स’ सँग कुरा गर्दै भने, “विट्रिकको खेल-सम्बन्धी दृढता प्रशंसायोग्य भए पनि सच्चा खेल भावना भनेको आफ्ना सीमाहरू बुझ्नु हो। प्रतिस्पर्धा कहिल्यै पनि जनस्वास्थ्य, निष्पक्षता वा अन्य खेलाडीहरूको अधिकारको मूल्यमा हुनुहुँदैन।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button