लाल सागरको रणनीतिक ‘मोखा बन्दरगाह’ हुथीको नियन्त्रणमा

रियाद, २६ भदौ । यमनको हुथी समूहले साउदी समर्थित सरकार पक्षीय फौजलाई पराजित गर्दै रणनीतिक महत्त्वको लाल सागरस्थित बन्दरगाह सहर 'मोखा' आफ्नो नियन्त्रणमा लिएको छ।
मोखामाथिको नियन्त्रणले इरान समर्थित यस समूहलाई 'बाब अल-मान्दब' जलसन्धिमाथि पकड जमाउन अझ सहज बनाउनेछ। यो जलसन्धि लाल सागरलाई 'गल्फ अफ एडेन' अर्थात अदनको खाडीसँग जोड्ने करिब ७५ किलोमिटर अर्थात ४६ माइल दक्षिणमा अवस्थित एक अति महत्त्वपूर्ण जलमार्ग हो।
एक साताअघि दक्षिण-पश्चिमी तटीय क्षेत्रमा हुथीहरूले आक्रमण सुरु गरेयता सयौँ मानिसको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन्।
यसैबीच, साउदी अरब र हुथी समूहबीचको द्वन्द्व तीव्र बन्दा विश्व बजारमा इन्धनको मूल्य ह्वात्तै बढेको छ।
गत जुलाईमा हुथीहरूले साउदी अरेबियाविरुद्ध "समुद्री प्रतिबन्ध" घोषणा गर्दै लाल सागरका साउदी विमानस्थल, तेल प्रशोधन केन्द्र र ट्याङ्करहरूमा मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेपछि चार वर्ष पुरानो अनौपचारिक युद्धविराम टुटेको थियो ।
आफूहरूले साउदीद्वारा गरिएको बन्दरगाह तथा विमानस्थलको नाकाबन्दी र हवाई हमलाको बदला लिइरहेको दाबी हुथी समूहको छ।
अमेरिका र इजरायलको इरानसँगको तनाव बढेसँगै खाडी क्षेत्रको होर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द भएपछि साउदी अरेबियाको तेल निर्यातका लागि लाल सागर क्षेत्र अत्यन्त संवेदनशील र महत्त्वपूर्ण बनेको छ।



