समाचार

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

  गाजा युद्धमा प्रयोग गरिएका गोप्य प्रणालीबारे बनेको वृत्तचित्र ‘नाजा’ भेनिसमा प्रदर्शन गरिएकाे छ। 

 

प्यालेस्टिनी सर्वसाधारणको सामूहिक हत्याबारे बनेको एक नयाँ वृत्तचित्रमा गाजा युद्धमा प्रयोग गरिएका गोप्य प्रणालीहरूबारे २४ जना इजरायली सैन्य अधिकारी तथा कर्मचारीहरूको बयान बृतचित्रमार्फत सार्वजनिक गरिएको छ।

 

तेल अभिभस्थित घरका छतहरूबाट रातको समयमा छायांकन गरिएको यस वृत्तचित्रले गाजामा प्यालेस्टिनी सर्वसाधारणको सुनियोजित सामूहिक हत्यापछाडि रहेका प्रणालीहरूलाई विस्तृत रूपमा प्रस्तुत गर्दछ।

 

ओस्कार विजेता इजरायली निर्देशकद्वय युभल अब्राहम र राहेल स्जोरद्वारा निर्देशित ‘नाजा’ (NAZA) नामक यस वृत्तचित्रलाई बिहीबार भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरियो। प्रतिष्ठित ‘गोल्डेन लायन’ पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने यो एकमात्र वृत्तचित्र हो।

 

चलचित्रको शीर्षक इजरायली सेनाले प्रयोग गर्ने एउटा साङ्केतिक शब्दबाट लिइएको हो, जसलाई सैन्य आक्रमणमा मारिने सम्भावना भएका सर्वसाधारणलाई जनाउन प्रयोग गरिन्छ।

 

‘द गार्जियन’ ले निर्माण गरेको यस वृत्तचित्रमा प्यालेस्टिनी सर्वसाधारणको निगरानी र दूर-नियन्त्रित प्रविधिमार्फत गरिने हत्यामा संलग्न इजरायली गुप्तचर अधिकारी तथा सैनिकहरूको विस्तृत बयान समावेश छ। इजरायलको युद्ध गतिविधिबारे बोल्दा हुने जोखिमका कारण परिचय गोप्य राख्ने सर्तमा तेल अभिभका घरका छतहरूमा रातको समयमा यी अन्तर्वार्ताहरू लिइएका थिए। उनीहरूको पहिचान लुकाउन अनुहार र आवाजलाई डिजिटल प्रविधिमार्फत परिवर्तन गरिएको छ।

 

अन्तर्वार्ता दिनेहरूले गाजामा इजरायली सेनाद्वारा प्रयोग गरिएका गोप्य विधिहरूको विवरण दिएका छन्। यसमा हमासका तल्लो तहका सम्भावित लक्ष्यहरूको पहिचान गर्न बनाइएका एआई आधारित प्रणालीहरू पनि समावेश छन्।

 

यस्ता व्यक्तिहरूलाई परिवारका सदस्यहरूसहित रातको समयमा उनीहरूकै घरमा बम प्रहार गरी मारिन्थ्यो। इजरायली सेनाले लक्षित व्यक्तिहरूको स्थान पत्ता लगाउन फोनहरू ह्याक गर्ने र उनीहरू मारिनु केही क्षणअघि आफ्ना परिवारसँग गरेका कुराकानीहरू गोप्य रूपमा सुन्ने गर्दथ्यो।

 

यस चलचित्रमा इजरायली सेनाको अनुमानअनुसार २५ प्रतिशत बासिन्दाहरू आश्रय लिइरहेकै अवस्थामा ती बस्तीहरूमा गरिएको विनाश, सर्वसाधारणका घरहरू योजनाबद्ध रूपमा जलाइएका र खाद्य सामग्री वितरण स्थलमा गरिएका हत्याका प्रत्यक्षदर्शी बयानहरू समेत समेटिएका छन्।

 

भेनिसमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक अब्राहमले भने, “हामीले ती अधिकारीहरूलाई प्रणालीले कसरी काम गर्छ भनेर सोध्यौँ। उनीहरूमध्ये कसैले पछुतो व्यक्त गरे भने कोही उदासीन वा गर्वका साथ बोले।”

 

अन्तर्वार्ता दिनेहरूमध्ये धेरैजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा प्रत्यक्ष प्रतिवेदन बुझाउने गोप्य गुप्तचर एकाइमा कार्यरत थिए। तीमध्ये एकजनाले आफ्नो मिसन “शान्ति प्रक्रियालाई विफल पार्नु” रहेको बताएका छन्।

 

निर्देशकद्वय अब्राहम र स्जोरका अनुसार, इजरायली चलचित्र निर्माता र पत्रकारका रूपमा आफ्नो देशले गरेको प्यालेस्टिनी सर्वसाधारणको सामूहिक हत्या पछाडिका प्रणालीहरूको छानबिन गर्ने दायित्वबोधका साथ यो चलचित्र निर्माण गरिएको हो। यो चलचित्र छिटपुट युद्ध अपराधमा मात्र नभई आदेश, नीति, स्थापित अभ्यास र सिङ्गो प्रणालीमा केन्द्रित रहेको उनीहरूले स्पष्ट पारेका छन्।

 

यो वृत्तचित्रको सह-निर्माण जेम्स विल्सनले गरेका हुन् भने कार्यकारी निर्माता जोनाथन ग्लेजर हुन्, जो ओस्कार विजेता चलचित्र ‘द जोन अफ इन्टरेस्ट’ (The Zone of Interest) निर्माण गर्ने टोलीकै सदस्य हुन्।

‘नाजा ‘ सन् २०२३ देखि २०२५ को अवधिमा ‘+९७२ म्यागजिन’ , हिब्रू सञ्चारमाध्यम ‘लोकल कल’  र ‘द गार्जियन’ द्वारा सार्वजनिक गरिएका तथ्यहरूमा आधारित छ। गोप्य स्रोतहरूको सुरक्षाका कारण यसको छायाङ्कन कडा सुरक्षा घेराभित्र गरिएको थियो र प्रिमियर अघिसम्म सामग्रीहरू अत्यन्त गोप्य राखिएका थिए।

 

‘द गार्जियन’ का अनुसन्धान विभाग प्रमुख तथा चलचित्रका कार्यकारी निर्माता पल लुइसले ‘नाजा (NAZA) लाई गाजामा इजरायली सैन्य गुप्तचर निकायले प्रयोग गरेका प्रणालीहरू पत्ता लगाउन र तिनको पुष्टि गर्न वर्षौँसम्म गरिएको अथक प्रयासको परिणामका रूपमा वर्णन गरेका छन्।

 

निर्देशक अब्राहमले यो वृत्तचित्र निर्माणले उक्त कार्यको सामूहिक प्रभावबारे खोजी गर्ने अवसर प्रदान गरेको बताए। “यस चलचित्रमा हामी २४ जनासँग कुराकानी गरेका छाैं र सामूहिक हत्याका प्रणालीहरूलाई नियालेका छौं,” उनले भने, “चलचित्रको विशेषता नै विभिन्न संरचना, प्रणाली र तिनको सम्बन्ध अन्वेषण गर्न सघाउनु हो।”

 

प्रिमियरअघि भेनिस चलचित्र महोत्सवका कला निर्देशक अल्बर्टो बार्बेराले ‘नाजा ‘ लाई “वास्तवमै अभूतपूर्व, राजनीतिक रूपमा हलचल ल्याउने र चलचित्रको दृष्टिकोणले अत्यन्त रोचक कृति” को संज्ञा दिएका थिए ।

 

इटालीको ‘सिनेचिट्टा न्युज’ ले बार्बेराको भनाइ उद्धृत गर्दै लेखेको छ, “यो केवल अन्तर्वार्ताहरूको सँगालो मात्र होइन। गाजामा आक्रमण सुरु हुँदा आफूले गरेका कामहरूबारे जानकारी दिन इजरायली गुप्तचर तथा सैन्य अधिकारीहरूलाई सहमत गराउन उनीहरूलाई तीन वर्ष लाग्यो; उनीहरूका बयानहरू स्तब्ध पार्ने खालका छन्।”

सन् २०२३ यता गाजामा भएका इजरायली आक्रमणमा ७३,००० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ, जसमा अधिकांश सर्वसाधारण छन् भने १,७४,००० भन्दा बढी घाइते भएका छन्। यो सङ्ख्या युद्धअघिको गाजाको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो।

खाद्य सामग्री ढुवानीमा इजरायलले लगाएको प्रतिबन्धका कारण गत गर्मीयाममा मानव-निर्मित अनिकालको अवस्था सिर्जना भएको थियो। साथै, इजरायली सेनाले तीन-चौथाइभन्दा बढी घरहरू ध्वस्त वा क्षतिग्रस्त बनाइदिएकाले बाँचेका प्यालेस्टिनीहरू अहिले सफा पानी र सरसफाइको सुविधाविना पालका शिविरहरूमा बस्न बाध्य छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button