बाराको कलैयामा सुमो गाडीको ठक्करबाट एक अज्ञात पैदलयात्रीको मृत्यु भएको छ।
बिहीबार राति करिब सवा ९ बजे कलैया–वीरगन्ज सडकखण्डको गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा राति १०:३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न सुमो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकको हुलिया सार्वजनिक गर्दै उनलाई चिन्नुहुने व्यक्ति वा आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो रहेको छ। उनको दायाँ हातमा बाला रहेको तथा कालो भेस्ट र निलो रङको पाइन्ट लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतकबारे कुनै जानकारी भए जिल्ला प्रहरी कार्यालय बाराका ९८५५०४८१०१, ९८५५०४५१०१ वा ९८५५०४५७६६ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

