काठमाडौं, २६ भदौ । नेपालमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको पाइएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राप्त कुल १ हजार ११६ वटा परियोजनामध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ वटा रहेका छन्।
गत आवमा प्राप्त प्रतिबद्धता अनुसार लगानीकर्ताहरूले विभिन्न क्षेत्रका १ हजार ११६ परियोजनाका लागि कुल ५८ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता जनाएका हुन्। यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८४२ वटा परियोजनाका लागि करिब ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
विभागका अनुसार सूचना प्रविधिबाहेक पर्यटन क्षेत्रमा २२७, सेवामूलक क्षेत्रमा ७१, उत्पादनमूलक क्षेत्रमा ६३, कृषिमा १८, ऊर्जामा ४ र पूर्वाधारका क्षेत्रमा २ वटा परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।
उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताहरूले मुख्यगरी आफ्नो रुचि र सम्भावना भएका क्षेत्रमा नै चासो देखाउने गरेका छन्। केही परियोजनाहरू ठूलो पुँजीका हुने भएकाले कुनै वर्ष परियोजना सङ्ख्या कम भए पनि कुल लगानीको आकार बढी हुने उहाँको भनाइ छ।

