संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक अपराह्न १ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे बस्ने गरी समय निर्धारण गरिएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसका साथै अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गर्नेछन्। 

सोही बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकको प्रारम्भमा सभामुखले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोजकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन्। 

प्रधानमन्त्री शाहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार उक्त प्रस्तावमाथि सभामा छलफल गरी आजै पारित गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *