प्रा.डा. जगमान गुरूङ
काठमाडौं, २४ भदौं। भाद्रकृष्ण अष्टमीको मध्यरातमा आकाशमा रोहिणी नक्षत्र चम्किरहेको शुभ अवसरमा वृष लग्न र वृष राशिमा भगवान् श्री वासुदेव कृष्णचन्द्र यस धरातलमा प्रकट हुनुभयो। उहाँले यदुवंशको वृष्णिकुलमा अवतार लिनुभएको हो।
नेपालमा भगवान् विष्णुका दुई थरी मूर्तिहरू पाइन्छन्। जसमध्ये एक थरी मूर्तिमा शिवलिङ्गको आकृतिको शिलामा चारैतिर शङ्ख, चक्र, गदा र पद्म धारण गरेका भगवान् विष्णुका एउटै स्वरूप अङ्कित गरिएको हुन्छ। कलाको भाषामा यस प्रकारको मूर्तिलाई 'विष्णुचतुर्मूर्ति' भनिन्छ।
अर्को प्रकारको मूर्तिमा शिवलिङ्गको आकृतिको शिलामा वासुदेव, सङ्कर्षण, प्रद्युम्न र अनिरुद्ध गरी यी चार वृष्णिनायकहरूको मूर्ति अङ्कित गरिएको हुन्छ। यस प्रकारको मूर्तिलाई 'चातुर्व्यूह' अर्थात् 'विष्णुचातुर्व्यूह मूर्ति' भनिन्छ।
यी विष्णुचातुर्व्यूह मूर्तिमा भगवान् वासुदेव कृष्ण परमात्माका प्रतीक हुनुहुन्छ। उहाँका दाजु बलराम (सङ्कर्षण) जीवका, छोरा प्रद्युम्न मनका र नाति (प्रद्युम्नका छोरा) अनिरुद्ध अहङ्कारका प्रतीक हुन्। यसरी यी चार वृष्णिनायकलाई विष्णुचातुर्व्यूहका रूपमा प्रस्तुत गरिएको छ।
नेपालमा यस्ता विष्णुचातुर्व्यूह मूर्तिहरू प्रशस्त छन्। यहाँ भेटिएका यस्ता मूर्तिहरूमध्ये नारायणहिटी राजदरबारस्थित विष्णुचातुर्व्यूह मन्दिरमा प्रतिष्ठापित मूर्ति सबैभन्दा प्राचीन मानिन्छ। यो मूर्ति लिच्छविकालको अन्त्यतिर (आठौँ शताब्दीतिर) को हो। यति प्राचीन मूर्ति अहिलेसम्म अन्यत्र पाइएको छैन। यसबाहेक ललितपुर मङ्गलबजारको चारनारायण मन्दिर, काठमाडौँ हनुमानढोका दरबार परिसरको जगन्नाथ मन्दिर, चाँगुनारायणको भण्डारखाल बगैँचा र टेकु दोभानमा पनि यस्ता विष्णुचातुर्व्यूह मूर्तिहरू रहेका छन्।
भगवान् श्री वासुदेव कृष्णको यस चातुर्व्यूह श्रीविग्रहले सम्पूर्ण चराचर जगत्को उद्धार गरून्।
कृष्णस्तु भगवान् स्वयं। ॐ नमो भगवते वासुदेवाय।

