समाचार

माथिल्लो त्रिशूली–१ मा बाढीको वितण्डा : ६ जनाको शव फेला, सुरुङभित्र ३०० कामदार फसेको आशंका

काठमाडौं, २० भदौ । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार उद्धार टोलीले आयोजनाको सल्लेटार क्षेत्रबाट शुक्रबार ती शवहरू संकलन गरेको हो। नेपाली सेनामार्फत बट्टार ल्याइएका शवहरू अत्यधिक बिग्रिएको अवस्थामा रहेकाले हालसम्म पहिचान खुल्न सकेको छैन।

बाढीका कारण आयोजनाको सुरुङभित्र (टनेल) करिब ३०० जना कामदार तथा कर्मचारी फसेको आशंका गरिएको छ। सम्पर्कविहीन रहेकाहरूको खोजीका लागि शुक्रबार दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा व्यापक रूपमा उद्धार टोली परिचालन गरिएको थियो। उद्धार कार्यलाई प्रभावकारी बनाउन कोरियाली प्राविधिक टोली, शेर्पा, सर्च एण्ड रेस्क्यु टोलीसहित १५ वटा भारी उपकरण, विशेष क्यामेरा र तालिमप्राप्त कुकुरहरू प्रयोग गरिएका छन्।

सुरुङभित्र भरिएको पानी निकाल्न उच्च क्षमताका वाटर पम्पहरू निरन्तर सञ्चालनमा राखिएको छ। बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत रहेकोमा हालसम्म ८७६ जनाको सकुशल उद्धार भइसकेको इप्पानले जनाएको छ। अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेकाले शनिबार पनि थप उपकरण र प्रविधि प्रयोग गरी सुरुङ र हेडवर्क्स क्षेत्रमा केन्द्रित भएर खोजी तथा उद्धार कार्यलाई तीव्र पारिने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button