समाचार

चर्को असुली र अखाद्य खानेकुरा बेचे कारबाही गर्ने मकवानपुर प्रशासनको चेतावनी

काठमाडौं, २० भदौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राजमार्ग आसपासका होटेल तथा पसलहरूलाई खाद्य स्वच्छता कायम राख्न र यात्रुहरूसँग चर्को मूल्य नलिन कडा निर्देशन दिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट सवारी सञ्चालन भइरहेको छ। यस्तो अवस्थामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट तथा पसलहरूले परिस्थितिको फाइदा उठाउँदै यात्रुहरूसँग चर्को मूल्य असुल्ने, मूल्यसूची नराख्ने र अखाद्य तथा अस्वस्थ खानेकुरा बिक्रीवितरण गर्ने गरेको गुनासो प्राप्त भएपछि प्रशासनले ध्यानकर्षण गराएको हो।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीद्वारा जारी सूचनामा सडक अवरोधका कारण सवारीको चाप बढेका बेला उपभोक्ता अधिकार हनन हुने गरी व्यापार नगर्न सचेत गराइएको छ। मापदण्डविपरीत काम गर्ने र अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

साथै, यात्रु तथा उपभोक्तालाई पनि सामान वा खाना खरिद गर्दा अनिवार्य रूपमा विल/रसिद लिएर मात्र भुक्तानी गर्न र मूल्यसूची जाँच्न अनुरोध गरिएको छ। कुनै पनि पसल वा होटेलमा अनियमितता र कैफियत देखिएमा तत्काल नजिकैको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button