उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा आइतबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो।
कारबाही पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४८ जना, तीव्र गतिमा गुडाउने ८२ जना र रातो बत्ती मिच्ने २९ जना रहेका छन्।
त्यस्तै, सीसीटीभी निगरानीमार्फत ६८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना, सवारीको यान्त्रिक अवस्था ठिक नभएका २० जना, एकतर्फी (वान-वे) बाटोमा चलाउने १२ जना र लेन अनुशासन पालना नगर्ने ६ जना चालक पक्राउ परेका छन्।
यसैगरी अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३४१ जना चालकलाई पनि नियमानुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।




