मधेस प्रदेशराजनीतिसमाचार
रास्वपाका उम्मेदवार चन्दन सिंहको घोषणा— निर्वाचित भए तलब–भत्ता जनसेवामा खर्च गर्छु

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत बारा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंह ले निर्वाचित भए आफ्नो तलब तथा भत्ताबाट प्राप्त सम्पूर्ण रकम जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट तथा सभामा बोल्दै सिंहले काठमाडौं उपचारका लागि जाने बिरामी तथा उनीहरूका कुरुवाका लागि बास बस्ने र खानाको व्यवस्था गरिने घोषणा गरे। आर्थिक अभावका कारण उपचारका क्रममा बिरामी र कुरुवाले भोग्नुपरेको कठिनाइलाई कम गर्ने उद्देश्यले यो पहल गरिने उनले बताए।
सिंहले राजनीति सेवा गर्ने माध्यम भएको उल्लेख गर्दै जनताको करबाट पाउने सुविधालाई पुनः जनताकै हितमा फर्काउने आफ्नो अडान रहेको स्पष्ट पारे। उनले स्वास्थ्य, शिक्षा, रोजगारी र सुशासनलाई प्राथमिक एजेन्डा बनाउँदै बारा–२ को समग्र विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
चुनावी अभियानअन्तर्गत सिंहले घरदैलो, टोलभेला र सार्वजनिक सभामार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। अभियानका क्रममा उनले युवालाई रोजगारीका अवसर, किसानलाई सहुलियत, र सर्वसाधारणलाई पहुँचयोग्य स्वास्थ्य सेवामा जोड दिँदै पारदर्शी र जवाफदेही राजनीति गर्ने प्रतिवद्धता दोहोर्याए।
स्थानीय मतदाताहरूले सिंहको घोषणालाई सकारात्मक रूपमा लिँदै नयाँ सोच र व्यवहारिक प्रतिबद्धता भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार तलब–भत्तालाई जनसेवामा लगाउने घोषणा व्यवहारमा उतारिए बारा–२ का सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
रास्वपाले बारा–२ मा भ्रष्टाचारविरुद्ध कडा नीति, सेवा–मुखी राजनीति र जनउत्तरदायी नेतृत्व को नारासहित चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।



